free website hit counter

एलआईसी नेपालद्वारा बाढी प्रभावितका लागि १ करोड २५ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १९, शुक्रबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब प्रमुख कार्यकारी अधिकृत अनिरबन दत्त र कम्पनी सचिव सुदर्शन गिरीलगायतको उपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत १ करोड २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कम्पनीले विपद्मा परी ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस आर्थिक सहयोगले राष्ट्रिय विपद्को सामना गर्न तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

एलआईसी नेपालले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्य तथा सम्बन्धित निकायले सञ्चालन गरिरहेका प्रयासमा आफ्नो तर्फबाट सहयोग र सहकार्य जारी राख्ने जनाएको छ।

सम्बन्धित समाचार