काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले आफ्नो साख अझ मजबुत बनाएको छ। इक्रा नेपाल ले कम्पनीको रेटिङ ‘ए प्लस’ बाट बढाएर ‘डबल ए माइनस’ मा पुर्याएको हो, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता र न्यून जोखिमको संकेत गर्छ।
पछिल्ला दुई वर्षमा नयाँ व्यवसाय प्रिमियममा देखिएको स्थिर वृद्धि यस रेटिङ सुधारको मुख्य कारण हो। अघिल्ला वर्षहरूको गिरावटलाई उल्टाउँदै कम्पनीले व्यवसाय विस्तारमा उल्लेखनीय सुधार गरेको छ। साथै, नियामकीय मापदण्डअनुसार कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजीको सीमा पार गर्दै आफ्नो पूँजी ५ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ, जुन हकप्रद र बोनस सेयर निष्कासनपछि सम्भव भएको हो।
यस पूँजी वृद्धिले कम्पनीको वित्तीय अवस्था, सञ्चालन क्षमता र सोल्भेन्सीलाई थप मजबुत बनाएको छ। सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको सोल्भेन्सी अनुपात करिब १६१ प्रतिशत पुगेको छ, जसले यसको जोखिम वहन क्षमता बलियो रहेको देखाउँछ। सम्पत्ति आधारमा कम्पनी नेपालकै दोस्रो ठूलो जीवन बीमा कम्पनीका रूपमा स्थापित छ।
कम्पनीको स्वामित्व संरचनामा पनि मजबुती देखिन्छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया को ५५ प्रतिशत र विशाल समूहको १० प्रतिशत लगानी रहेको छ। सन् २००१ देखि सञ्चालनमा रहेको कम्पनीसँग अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोली छ, जसले यसको दीर्घकालीन स्थायित्वलाई टेवा दिएको छ।
लगानी पक्षमा कम्पनीको प्रदर्शन सन्तोषजनक छ। कुल लगानीको करिब ६६ प्रतिशत वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपका रूपमा रहेको छ। पुनर्बीमा व्यवस्था पर्याप्त हुनु, सञ्चालन खर्च नियन्त्रणमा हुनु र नाफा सूचकहरू सकारात्मक रहनु यसको थप बलिया पक्ष हुन्। कम्पनीको बीमा व्यवसायमा ९९ प्रतिशतभन्दा बढी हिस्सा अन्त्यावधि बीमाको रहेको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको नवीकरण दर करिब ९५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८९ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो। देशभर कम्पनीका ८५ शाखा ९मुख्य तथा प्रदेश कार्यालयसहित०, करिब १३,८०० एजेन्ट ९जसमध्ये ६,१०० सक्रिय० र ९६ कर्पोरेट शाखाहरू सञ्चालनमा छन्।