काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार ३ बजे २०७९ चैत १७ गतेदेखि २९ गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेका थिए । परीक्षा नियन्त्रण कक्षा १० को कार्यालयका अनुसार ग्रेडिङमा नतिजा प्रकाशित भएको हो । बोर्डले एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । एसएमएसबाट हेर्न एसईई स्पेस सिबोलनम्बर टाइप गरी १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा एसएमएस गरेर रिजल्ट हेर्न सकिन्छ ।