दार्चुलास्थित सशस्त्र प्रहरीका ४४ नम्बर गणपति एसपी नरेन्द्र बमको भ्रमणले व्यास गाउँपालिकामा आतंक मच्चिएको छ । सीमाक्षेत्रको निरीक्षण भ्रमण भनेर निस्किएका बममा कोरोना संक्रमण पुष्टि भएपछि व्यास गाउँपालिका–२ राप्ला, दुम्लिङ र वडा नम्बर ४ सुन्सेरा, डोकटका स्थानीयमा त्रास फैलिएको हो ।
असोज २६ गते सोमबार स्वाब संकलन गराएर उनी गाउँ भ्रमणमा निस्किएका थिए । असोज २९ गते डडेल्धुरा अस्पतालबाट परीक्षणको नतिजा आउँदा उक्त टोली राप्लाको दुम्लिङ गाउँमा थियो । सदरमुकाम खलंगाबाट हिँडेर ३ दिनमा दुम्लिङक्षेत्र पुगेका एसपीले तीन दर्जनभन्दा बढी स्थानीयसँग प्रत्यक्ष सम्पर्क गरेको पाइएको छ ।
एसपीसँग सम्पर्क भएका तीन दर्जन स्थानीयले आइसोलेसनमा बस्न शुरु गरेको व्यास गाउँपालिकाका प्रवक्ता धीरेन्द्रसिंह बुढाथोकीले बताउनुभयो ।
टोली एक रात गाउँपालिकाको केन्द्र सुन्सेरामा बसेको थियो । दोस्रो रात वडा नम्बर २ को राप्ला गाउँमा र तेस्रो रात दुम्लिङगाउँमा बस्यो ।
गणमा असोज २० गते एकैपटक ४१ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । धेरै जनामा संक्रमण देखिएपछि ब्यारेक नै सिल गर्नुपर्नेमा असोज २२ गते गणपति एसपी बम हेलिकप्टरमार्फत व्यासक्षेत्र घुमेका थिए । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी नजिकको छाङरुमा निर्माण गर्न लागिएको गुल्म भवनको निर्माण सामग्री ढुवानी गर्ने क्रममा एसपी हेलिकप्टर चढेका हुन् ।
गुल्म भवन निर्माण गर्ने जिम्मेवारी पाएका ठेकेदार सुरेश चन्द, अपीनाम्पा संरक्षण क्षेत्रका वार्डेन किशोरकुमार मेहता, नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहरासँगै एसपी बम हेलिकप्टरमार्फत व्यासक्षेत्र पुगेका थिए । त्यतिबेला एसपी बमले पिसिआर परीक्षण गराएका थिएनन् ।
२९ गते एसपीसहित थप १४ सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएपछि जिल्लास्थित सुरक्षा अधिकारीबीच यसबारे छलफल भएको छ ।
सुरक्षा अधिकारीले आफ्नो आलोचना गरेकामा एसपी बमले शुक्रबार साँझ फेसबुकमार्फत त्यसको प्रतिउत्तर दिएका छन् । ‘अरूलाई कोरोना लाग्यो भनेर कुरा काट्नुभन्दा पहिला आफ्नो पनि एकचोटी पिसिआर टेस्ट गराएर मात्र केही भन्ने कि ? देखाउनेभन्दा लुकाउने चोर हुन् !’
प्रजिअ शरदकुमार पोखरेल दुई सातादेखि जिल्लाबाहिर छन् । बिदा लिएर सिडिओ पोखरेल काठमाडौंबाट दुई दिनपछि मात्रै दार्चुला आइपुग्ने निमित्त प्रजिअ ज्योत्स्ना भट्ट जोशीले बताउनुभयो । सशस्त्र प्रहरीको गणमा मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरिको संक्रमित संख्या भने २ सय पुगेको छ ।
असोज २९ गते बेलुकी ८ बजेदेखि लागू हुने गरी सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । महाकाली नगरपालिकाको सिफारिसबमोजिम आवतजावत समेतमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरिएको हो । तर, प्रशासनको निषेधाज्ञा भने प्रभावकारी देखिएको छैन । पैदल र गाडीमार्फत आवतजावत कार्य जारी छ ।
जनआस्थाबाट