काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ।
हाल देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका परीक्षण कार्य तीव्र गतिमा भइरहेको छ। बोर्डले अधिकांश उत्तरपुस्तिकाको परीक्षण सम्पन्न भइसकेको जानकारी दिएको छ। परीक्षण सकिएका उत्तरपुस्तिकाको सम्परीक्षण तथा प्राप्ताङ्कलाई डिजिटल प्रणालीमा प्रविष्ट गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ।
नतिजा प्रकाशनलाई छिटो र व्यवस्थित बनाउन परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ। विषयगत परीक्षण पूरा हुनेबित्तिकै सम्परीक्षण र कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्ने व्यवस्था मिलाइएकाले नतिजा तयारी प्रक्रिया तीव्र बनेको बोर्डको भनाइ छ।
यस वर्षको कक्षा १२ परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए।
गत वर्ष बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गर्दै सबैभन्दा छिटो नतिजा प्रकाशनको रेकर्ड कायम गरेको थियो। यसपटक पनि सोही गतिमा काम गर्दै कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।