यूएई । कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकले उडान बन्द गरेका छन् त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि यूएईमै अन्त्येष्टि गरिएको छ । झापा अर्जुनधाराकी निता चौधरीको ज्यान गएको झण्डै दुई महिनापछि बिहीबार यूएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । ७ महिना पहिले यूएईको रोयल क्याटरिङ्ग कम्पनीमा पुगेकी चौधरीले गएको फागुन १९ गते आत्महत्या गरेकी थिइन् । अन्तर्राष्ट्रिय उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएपछि परिवारको अनुमतिपछि उनको यूएईमै अन्त्येष्टि गरिएको हो । तर यो सबै प्रक्रिया पूरा गर्न समय लागेको थियो । पहिले त परिवारले शव नेपालमा नै लैजाने भनेपछि लकडाउन लम्बिंदै जाँदा शव नेपाल लैजान समस्या भएपछि यूएईमै अन्त्येष्टिका लागि परिवारले अनुमति दिएको हो । लकडाउनअघि नै शव लैजान अनुमति दिए पनि त्यसको दुई दिनपछि लकडाउन भएकाले शव नेपाल लैजान नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । शव नेपाल लैजान नसक्ने भएपछि दूतावासको समन्वयमा दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव यूएईमै अन्त्येष्टि गरिएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा २६ जनाको शव रोकिएको थियो । बिहीबारसम्म ७ जनाको शव अन्त्येष्टिका लागि परिवारले अनुमति दिएकाले दूतावासले त्यही अनुसार अनुमतिपत्र प्रदान गरिसकेको छ । ५ जनाको अन्त्येष्टि भइसकेको छ । बाँकी दुईको अन्त्यष्टि भए नभएको जानकारी नभएको दूतावासले जनाएको छ ।