free website hit counter

कतिमा आईपीओ निष्काशन गर्दैछन् चार बीमा कम्पनी

beemaadmin
२०८० जेष्ठ ६, शनिबार

काठमाडौं । चार बीमा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न लागेका छन् । नेपाल धितोपत्र बोर्डमा चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न आवेदन दिएका हुन् । सिटिजन लाइफ, रिलायवल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् । यसरी प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेका चार कम्पनीबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एकले अर्को शिर्षकमा अब्बल दाबी गर्दा अर्कोले अर्कै शिर्षकमा आफुलाई अब्बल दाबी गरेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । रिलायवल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा थप १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । कम्पनीले प्रति कित्ता २२० रुपैयाँका दरले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बारबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चार वटै कम्पनीले आईपीओ निष्काशन पश्चात पनि न्युनतम चुक्ता पूँजी कायम गर्न नसक्ने देखिन्छ । न्युनतम चुक्ता पूँजी पुर्याउन चार वटै कम्पनीले शेयरधनीहरुलाई बोनस तथा हकप्रद निष्काशन गरेर पूँजी बढाउने तयारी गरेका छन् ।

सम्बन्धित समाचार