free website hit counter

करोडौं लगानीमा वातावरण मैत्री इँटा उत्पादन शुरु

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । नेपालमै वातावरणमैत्री चाइनिज इटाको उत्पादन सुरु भएको छ । गोर्खा इको रेड ब्रिक्स प्रालिले काभ्रेको बासडोलमा कारखाना स्थापना गरी व्यवसायिक रुपमा इटाको उत्पादन शुरु गरेको हो । उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नहुने गरी सुरुङ भट्टी (टनेल किल्न) प्रविधिबाट चिनियाँ इँटा उत्पादन गरिएको हो । माटोबाट बन्ने इँटा उत्पादनमा टनेल किल्नको यो प्रविधि सबैभन्दा वातावरणमैत्री र ऊर्जा किफायती मानिन्छ । इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ । यद्यपि युरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको जनाइएको छ ।

कम्पनीका सञ्चालक कृष्णभक्त दुवालका अनुसार उत्पादित इटा बजारमा बिक्री वितरण शुरु भइसकेको छ । आफ्नो उत्पादन देशभर विक्रीवितरण सुरु गर्ने योजना रहेको पनि उनले सुनाए । उद्योगले दैनिक एक लाख गोटा इटा उत्पादन गर्ने क्षमताको रहेको बताइएको छ । इटाको उत्पादनसहित सवै मेशिनरी रहेकोले पाँच छ सय मानिसको सवै काम दुई तीन दर्जन मानिसबाट यति क्षमताको इटा उत्पादन हुने जनाइएको छ । इँटा पार्नेदेखि सवै काम वैज्ञानिक रुपमा मेशिनबाटै हुने गरेको छ ।

यो कम्पनीबाट उत्पादित इटा उत्पादन गर्दा मलिलो खेतीयोग्य माटो नै चाहिन्छ भने छैन । यसले उर्वर जमिनको संरक्षणमा टेवा पुर्याउने कम्पनीको दावी छ । किनकि यो प्रविधिबाट बनाइने इँटामा एक त माटो मात्र प्रयोग हुने छैन  । यस प्रविधिबाट इँटा तयार गर्दा जस्तोसुकै रूखो माटो प्रयोग गर्न सकिने जनाइएको छ । साथै, त्यस्तो माटो पनि यसमा ५० प्रतिशत मात्र लाग्नेछ भने ३० प्रतिशत ढुंगा र बाँकी २० प्रतिशत कोइला यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

लगानीकर्तामध्येका एक दुवालले कम्पनीले इँटा उत्पादनमा प्रयोग गर्ने टनेल किल्न प्रविधि धुलो रहित र यसबाट उत्पादित इँटा पनि वातावरणमैत्री हुने भनाइ राखेका छन् । यस प्रविधिबाट इँटा उत्पादन गर्दा वातावरणमैत्री छ, दुवालले भने । यसमा कच्चा पदार्थ तयार भइसकेपछि काँचो इँटा पनि मेशिनबाटै बनाइनेछ । त्यसरी मेशिनले तयार पारेको काँचो इँटालाई पोल्नुअघि अन्य प्रविधिमा जस्तो घाममा सुकाइराख्नु पनि पर्दैन । इँटा सुकाउनका लागि पनि ‘ड्राई टनेल’ बनाइएको छ । मेशिनबाट तयार काँचो इँटा सोझै उक्त ड्राई टनेलमा जानेछ । त्यसरी सुकाइएको इँटा पकाउनका लागि ड्राई टनेलबाटै ‘फायर टनेल’ मा पठाइनेछ ।

फायर टनेल पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले इँटा एकनाशले रातो हुनेगरी पाक्ने गर्दछ । इँटा उत्पादन प्रक्रिया यसरी टनेल भित्रभित्रै पूरा हुने भएकाले यसमा बाहिरी वातावरणमा इँटा उत्पादन प्रक्रियाका कारण धूलो सिर्जना हुने सम्भावना शून्य छ ।

गोर्खा चाइनिज इँटा हाल नेपाली बजारमा पाइने गरेको चिनियाँ इँटाबराबरकै आकारमा छन् । तर, त्यसको तुलनामा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।  कम्पनीले केही दिन अगाडि गराएको वातावरण प्रदूषण परिक्षण पनि मापदण्ड भित्रै रहेको पाइएको छ । वातावरण मैत्री उद्योग स्थापना गरेको कम्पनीले नयाँनयाँ प्रविधि आगामी दिनमा अझै भित्र्याउँदै लाने बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार