काठमाडौं । आज कात्तिक कृष्ण पक्ष चतुर्दशी अरु वर्ष औँशीका दिन मनाइने लक्ष्मी पूजा यस वर्ष चतुर्दशीकै मनाउने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको छ । आज धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ।
सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ। लक्ष्मी पूजा गर्दा आफू पश्चिम दिशामा फर्केर लक्ष्मी र गणेशको मूर्ति पूर्वतिर फर्काउनुपर्छ। पश्चिम दिशामा २७० डिग्रीमा फर्किएर पूजा गर्दा समृद्धि प्राप्त हुन्छ।
लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख गरिएअनुसार पूजा तथा आरती गर्दा गरे लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ।
कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती
आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने।
आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः
ॐ या श्री: स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी: पापात्मनां कृतधियां ह्रदयेषु बुद्धि:।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नता: स्म परिपालय देवि विश्वम्।।
ॐ महालक्ष्म्यै नम:, मंत्रपुष्पांजलिं समर्पयमि।
मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः
आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।
भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।
यसपछि पुनः प्रमाण गरेर
ॐ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मी: प्रसीदतु।
भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने।
पूजाको विसर्जन
चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः
यान्तु देवगणा: सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।
कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्प्रेरित गरी प्रचारप्रसार गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिएका छन् । ‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले’, उनले भने ।
राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गरेका छन् । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।
धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उनको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।