free website hit counter

कसले चलाउला अब यी नेतालाई करौंती

beemaadmin
२०७७ चैत्र ११, बुधबार

मानौँ, प्रधानमन्त्री केपी ओलीले चाहेझैँ मंसिरमै चुनाव भएछ । के त्यो चुनावपछि फेरि दुई तिहाई हाराहारीको जनमत बोकेर उहाँ सिंहदरबार छिर्नु होला ?
इतिहास, तथ्यांक र विश्लेषणहरूले भन्छन्, प्रधानमन्त्रीका ती अभिव्यक्ति पूरा हुन सक्दैनन् । ०७४ को निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये वाम तालमेल गर्दा माओवादीले समानुपातिकसहित ५३, एमालेले (८० ं ४१) १ सय २१ सीट जितेको हो । कतिपय ठाउँमा हजार, १५ सय मतले जित– हार भएका छन् । जस्तो ः संखुवासभामा ओलीपक्षीय एमालेका राजेन्द्र गौतमले कांग्रेसका प्रतिस्पर्धी दीपक खड्कालाई जम्मा ११ सय ३० मतले हराएका हुन् । मोरङ– ६ बाट जितेका लालबाबु पण्डितले कांग्रेसका शेखर कोइरालालाई जम्मा १६ सय ७५ मतले पछाडि पारेका हुन् । पर्यटनमन्त्री भानुभक्त ढकालले मोरङ– ३ बाट कांग्रेसलाई १९ सय ७ मतले मात्रै पछाडि पारेका थिए । वनमन्त्री प्रेम आलेले डोटीमा कांग्रेसका वीरबहादुर बलायरलाई जम्मा १६ सय ३२ मतले जितेका हुन् । यससँगै वाम गठबन्धनको लहर छाएको उक्त निर्वाचनमा जीवराम श्रेष्ठ, दीपकप्रकाश भट्टलगायत दर्जनभन्दा बढी एमाले सांसद झिनो अर्थात् ३–४ सयको मतान्तरका साथ निर्वाचित भएका थिए । माओवादीका निम्ति ५९ क्षेत्र छाडेर ०७४ मा एमाले १०३ ठाउँमा मात्रै उठेको थियो तर अबको चुनावमा माओवादीले १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट अलग्गै उम्मेदवारी दिन्छ । एमालेमा पनि केपी ओलीका अलग्गै, माधव नेपालका अलग्गै उम्मेदवार हुने भए । केपी ओलीको तर्फबाट माधव नेपालपक्षीय लोकप्रिय नेताले टिकट पाउँदैनन् । ती मान्छे कि निस्क्रिय हुन्छन्, कि विद्रोहमा जान्छन् । त्यसो गर्दा केपी ओलीलाई संसदभित्र दोस्रो हुन पनि गाह्रो छ । यही हिसाब हो भने त नेपाली कांग्रेस र जसपा पहिलो र दोस्रो हुने भए । त्यसमाथि केपी ओलीका तर्फबाट कोमल वलीजस्ता ‘हिरा’ हरूले टिकट पाउने भए । एकजना एमाले नेता भन्छन्, ‘त्यस्तो चुनाव हुने भएपछि कांग्रेसहरूले अहिल्यै माला लगाए हुन्छ ।’

समानुपातिकको भय
०७४ को समानुपातिक निर्वाचन प्रणाली, अर्थात् जनताले राजनीतिक दललाई रोजेर मतदान गर्ने प्रक्रियालाई हेर्दा नेपाली कांग्रेसभन्दा एमाले जम्मा ४५ हजार १ सय ८ मतले मात्रै पछाडि हो । एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ पाएको हो । एमालेसँग गठबन्धन हुँदा माओवादीले पाएको १३ लाख ३७ हजार २१ मत जोडिँदा नेकपा फागुन २३ सम्म ४४ लाख ७७ हजार २ सय १५ मतको धनी थियो । तर, दलहरू अलग अलग हुने फैसलापछि स्थिति खस्किएको स्पष्ट छ ।

कांग्रेस उत्साहित
दलीय आधारमा आउने मतमा नेपाली कांग्रेस सबभन्दा बलियो देखिन्छ । त्यसमाथि अहिले प्रतिपक्षमा बसेर सरकारलाई गाली गर्दा पाइने मतको फाइदा पनि छ । र, यही हेरेर ऊ चुनावमा जान्छु भन्दै छ । अस्थायी वा म्यादी प्रधानमन्त्री खानुभन्दा अहिले कम्युनिष्टहरू नराम्रोसँग फुटेकै बेलाको चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुने दाऊमा शेरबहादुर देउवा देखिनुभएको हो ।
०७४ को निर्वाचनमा झिनो मतान्तरका साथ पराजित भएका रामचन्द्र पौडेल, शेखर कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, रमेश लेखक, दिलेन्द्र बडू र सशांक कोइरालासहित थुप्रै हस्तीहरू अब जित्नबाट नरोकिने पक्कापक्की छ । यीबाहेक अरु ५०–६० सीट त एक हजारको अन्तरमा कांग्रेसले हारेको छ । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार