काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको भन्ने आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
शनिबार काठमाडौंमा आफू पक्षीय काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आर्थिक प्रभावमा पार्टीको आधिकारिकता अर्को पक्षलाई दिइएको भन्ने विषय सार्वजनिक भएको भन्दै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन्।
‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ। पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ उनले भने।
देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यान मार्ने धम्की दिइएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाए।
एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे।
पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै देउवाले १८ करोड रुपैयाँमा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने जिकिर गरे। कांग्रेसको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने उनको भनाइ थियो।
आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै देउवाले अब व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए।
‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु। अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ। यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो,’ उनले भने।
देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरे। आफूहरूले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउने उनको अपेक्षा छ।
‘मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ। अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ,’ उनले भने।