काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति दुई दिन पछि सारेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
कांग्रेसले जारी गरेको जानकारीअनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेका छन्।
देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही क्षेत्रमा असहज परिस्थिति सिर्जना भएकाले क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ।
निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा केही निर्वाचन क्षेत्रमा अधिवेशन र प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेकाले महाधिवेशनको उद्घाटन मिति सारिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले विज्ञप्तिमार्फत असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना हुने जानकारी दिएको छ।