free website hit counter

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन

beemaadmin
२०८३ आश्विन १८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरूलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन् भने असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ। समितिका सदस्य–सचिव राजु कटुवालले तोकिएको समयभित्र महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने बताएका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि भृकुटीमण्डपमा खानाको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूले भने आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

सम्बन्धित समाचार