free website hit counter

काठमाडौंमा दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै

beemaadmin
२०८३ भाद्र २१, आईतवार

काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन् । उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लाका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाउन थालिएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै उपत्यकामा करिब ९३ हजार सिलिन्डर पठाइएको छ । बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार ३५ हजार सिलिन्डर काठमाडौं पठाइएको संघले जनाएको छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर एलपी ग्यास खपत हुने गर्छ । तर, सडक अवरोधका कारण नियमित रूपमा ग्यास बुलेट उद्योगसम्म पुग्न नसकेपछि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति बढाइएको हो ।

यसअन्तर्गत उपत्यकामा खाली भएका सिलिन्डर ट्रकमार्फत उपत्यकाबाहिरका ग्यास उद्योगसम्म पुर्‍याउने र त्यहीँ ग्यास भरेर पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ । नेपाल आयल निगमले उपत्यकाबाहिर सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरिएको संघले जनाएको छ ।

चितवनबाट सबैभन्दा बढी आपूर्ति

काठमाडौंको ग्यास आपूर्ति व्यवस्थापनमा चितवनका ग्यास उद्योगलाई प्रमुख आधार बनाइएको छ । चितवनस्थित नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाइएको छ ।

त्यस्तै, नवलपुरको गैँडाकोटबाट जानकी र श्रीराम, बारा–पर्साबाट सीताश्री, श्रीमाया र लियो, पर्सा तथा धनुषाबाट हिमाल र सगर तथा हेटौँडाबाट एभरेस्ट र सुगम ग्यास उद्योगले समेत काठमाडौंमा आपूर्ति गरिरहेका छन् ।

सरकारी लगानीको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि वैकल्पिक व्यवस्थाबाट एलपी ग्यास आपूर्ति थालेको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित कर्पोरेसनको एलपीजी प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी एसटीसीका खाली सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाइएको कर्पोरेसनले जनाएको छ ।

ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ

वैकल्पिक माध्यमबाट ग्यास आपूर्ति गर्दा ढुवानी तथा अन्य अतिरिक्त लागत बढेपछि त्यसको प्रभाव उपभोक्ता मूल्यमा समेत परेको छ ।

नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास भरेर काठमाडौं ल्याइएका सिलिन्डरको बिक्री मूल्यमा अतिरिक्त ढुवानी लागत समायोजन गर्न अनुमति दिएको छ । त्यसअनुसार साविक मूल्यभन्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढी लिन अनुमति दिइएको छ ।

यससँगै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

सडक अवरोधका कारण नियमित आपूर्ति प्रभावित भए पनि वैकल्पिक माध्यमबाट दैनिक करिब ३५ हजार सिलिन्डर काठमाडौं भित्र्याउन थालिएपछि उपत्यकामा ग्यास अभाव हुन नदिने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन् ।

सम्बन्धित समाचार