free website hit counter

कार्यवाहक प्रधानमन्त्री बन्ने को ?

beemaadmin
२०७६ कार्तिक २७, बुधबार

लामो समयदेखि प्रसंग चल्दै, सेलाउँदै आएको मन्त्रिपरिषद् हेरफेरमा अहिले प्रमको सचिवालयभित्रै सहयोगी टोली परिवर्तनसम्मको कुरा निस्किएको छ । सामान्यतया दुई अध्यक्षलाई जता उडाउन मन लाग्छ, नेकपारुपी जेट विमानलाई त्यतै लाने र त्यसरी नै ट्रान्जिट बनाउने गरिएकोमा छिट्टै पार्टी स्थायी समितिको बैठक डाकेर त्यसमा ब्रेक लगाउने अभ्यास शुरु हुन लागेको प्रतित हुन्छ । बंगलादेशी राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्री फेर्ने तयारी छ । पुनर्गठित मन्त्रिपरिषद्को स्वरुप कस्तो होला ? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ । पुनर्गठनपूर्व सबै मन्त्रीले राजीनामा दिने हो भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही मापदण्डभित्र परेर अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव पनि हट्ने होला । त्यसो भएपछि नेकपाका महासचिव विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री दिने तयारी त हुँदै छैन ? कथं प्रधानमन्त्री लामो समय उपचारका लागि विदेश बस्नुपर्ने अवस्था आएमा कावा प्रमबाट पार्टी र सरकार पनि चलाउने हिसाब पो हो कि !

यता, नेकपाभित्र कमिटी प्रणाली ध्वस्त छ । पार्टी अत्यन्त बलियो, प्रणालीचाहिँ कमजोर । सरकारको कामलाई पार्टी पंक्तिले डिफेन्ड गर्ने, भित्रै असन्तुष्टि राख्ने, सुझाव दिने क्रम ठप्प छ । केन्द्रीय कमिटी सुनसान, पोलिट ब्युरो गर्भमै र स्थायी समिति गुमनाम रहेको पृष्ठभूमिबीच नौ सदस्यीय सचिवालय नै सर्वशक्तिमान देखिन्छ । पार्टी पद्दति नहुँदा सल्लाहकार समूह हावी भएर सरकार बद्नाम भयो पनि भनिँदैछ । सचिवालय नै आँखाको तारो बनिरहेको बेला कसैलाई जिम्मा लगाउनुप¥यो भने प्रम भइसक्नुभएका झलनाथ खनाल र माधव नेपाललाई केपीले नेतृत्व सुम्पिने सम्भावना छैन । अर्का अध्यक्ष प्रचण्डलाई तत्काल प्रधानमन्त्री बनाउने सुरसार त झनै देखिँदैन । आधा–आधा कार्यकालको सम्झौता भए पनि एकजनाले नछाडी त्यो अहिल्यै कार्यान्वयन भइहाल्ने पनि हैन । गृहमन्त्री बादल र रक्षामन्त्री ईश्वरले पनि राजीनामा दिने भएपछि सरकार धान्न सक्ने नारायणकाजी र वामदेव संसद बाहिर हुनुुहुन्छ । बाँकी रहनुभएका विष्णु पौडेल, जो सांसद र पार्टी नेतृत्वमा पनि हुनुहुन्छ, दुवै अध्यक्षको विश्वासिलो पनि उहाँ नै । प्रधानमन्त्रीले डायलासिस प्रक्रिया छाडेर पनः मिर्गाैला प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्नुपर्ने र दुई– तीन महिना बाहिरै बस्नुपर्ने भयो भने पनि यता थेग्नसक्ने मान्छेको खोजी हुँदा विष्णु पौडेल रोजाईमा परेको हुन सक्छ । यसबारे बुझ्न खोज्दा पौडेलले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

अहिले सरकार तलमाथि हुने अवस्था होइन । यही सरकारबाट सबैथोक चल्ने भएपछि संसदीय दलको नेता पनि फेरिन्न । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामध्ये समस्या न्यायपालिकामा छैन, व्यवस्थापिकामा मात्रै हो । कार्यवाहक सभामुखको व्यवस्था छैन, यसर्थ सभामुख नयाँ चुन्न बाँकी छ । प्रधानन्यायाधीश बाहिर गएको बेला वरिष्ठतम् श्रीमान् स्वतः कामु हुने प्रचलन छ । सरकारको हकमा भने प्रधानमन्त्री पदमा रहिरहेसम्म, संसदीय दलको नेता नफेरिएको अवस्थामा उपप्रममध्येका वरिष्ठ स्वतः कार्यवाहक हुने व्यवस्था छ । पहिला–पहिला कावाको अध्यक्षतामा क्याबिनेट बस्दैनथ्यो । सुशील कोइरालाको क्याबिनेटमा एकपटक वामदेवले त्यो अभ्यास गर्नुभएको हो । प्रम ओली सिंगापुर जाँदा बसेको क्याबिनेट बैठकलाई पनि उतैबाट भिडियो सिष्टममार्फत अध्यक्षता गरिएको थियो । तर, ती सबै अभ्यास अल्प अवधिका अड्कोपड्को थिए । अब भने प्रधानमन्त्रीको स्वदेशमा उपस्थिति लामो समय ग्याप रहन सक्ने सम्भावनाको कारण सबै हिसाबले भरपर्दाे बिकल्प खोज्न लागिएको हो । ईश्वर पोख्रेलले महाधिवेशनदेखि नै केपी ओलीलाई दिलो ज्यानले सघाउँदै आउनुभएको पनि अनेकन घटनाक्रम नियाल्दा उहाँसँग मन भाँचिएको अनुभूत गर्न सकिन्छ ।
(जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार