काठमाडौं । ओरालो भन्दा उकालै लाग्न रुचाउने सुनको भाउ मंसिर लागेपछि निरन्तर उकालो यात्रामा छ । मंसिर लागेसँगै सुनको भाउ भने बढेको बढ्यै छ । मंगलबार सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ तोकिएर ऐतिहासिक रेकर्ड नजिक पुगेको छ । कात्तिक सकिए यता सुन तोलामा नै तीन हजार रूपैयाँले महंगिसकेको छ । गत महिना भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । इजरायल र प्यालेस्टाइनबीचको युद्धका कारण नै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ । जसको प्रभाव नेपाली सुन बजारमा पनि देखिएको छ । रुस र युक्रेनको युद्धपछि हाल इजरायल र प्यालेस्टाईन युद्धका कारण विश्वको अर्थतन्त्र प्रभावित बनेको छ । जसको असर विश्वको सुन बजारमा परेको छ । लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनलाई लिएको भएकाले हाल सुनमाथि आकर्षण बढेको छ र सुनमा लगानी पनि बढेको छ । अन्य क्षेत्रभन्दा सुनमा लगानी बढ्दा सुनको भाउ बढ्न पुगेको विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ चीन र अमेरिकाको व्यापारीक द्वन्द्ध र ब्रिक्स मुलुकहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने बहसका कारण पनि हाल विश्वकै अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको पनि विश्लेषकहरुको धारणा रहेको छ ।
मंसिरमा सुनको मूल्य बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान रहेको छ । यकिन गरेर सुनको भाउ भन्न नसके पनि केहि बढ्ने बताइएको छ । सुनको भाउ बढ्दा मंसिरमा हुुने व्यापार पनि घट्ने देखिएको छ । तिज र दशैँमा खासै व्यापार नभएकोले तिहारमा हुने अनुमान गरिएको थियो । आशा गरिए अनुरुप नभएको व्यवसायीहरु गुनासो गर्छन् । तिहारमा झण्डै १५० किलोको लक्ष्य राखिएपनि ५० किलो मात्र खपत भएको महासंघको भनाई छ । कात्तिक महिनामा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो । कात्तिक ११ गते, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँको उचाइमा पुगेर कारोबार भएको थियो । तर महासंघले सार्वजनिक गरेको महिनाभरको तथ्यांक हेर्दा भने कात्तिकको सुरुवात र अन्त्यमा एकै मूल्यमा सुन खरिदबिक्री भएको देखिन्छ । कात्तिक १ गते, सुन प्रतितोला एक लाख १३ हजार २०० रूपैयाँ तोकिएको थियो । कात्तिक २७ गते पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।