free website hit counter

किन यस्त्तरी उकालो लाग्यो सुन ?

beemaadmin
२०८० मंसिर १९, मंगलवार

काठमाडौं । सुनको मूल्य दिनदिनै रेकर्ड ब्रेक गर्दै उकालो लागिरहेको छ । नेपालमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो इतिहासकै उच्च मूल्य हो। मंसिरयता मात्रै सुनको मूल्य तोलामा करिब नौ हजार रूपैयाँले बढेको छ। विवाहको सिजन लागेसँगै सुनको मूल्य बढिरहेको हो। तर, यहाँको मागले मूल्य वृद्धिमा कुनै सहयोग पुर्‍याउँदैन। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भइरहेकोले यहाँ पनि मूल्य उच्च भएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सरदर प्रतिऔंस २ हजार ७२ डलरमा कारोबार भइरहेको छ। सोमबार अन्तरदिनको कारोबारमा सुनको मूल्य प्रतिऔंस २ हजार एक सय ३५ डलरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १६ प्रतिशतले वृद्धि भइसकेको छ। इसराइल र हमासबीचको द्वन्द्वको कारण बढिरहेको सुनको मूल्य पछिल्लो समय भने अमेरिकी केन्द्रीय बैंक (फेड)ले आगामी वर्ष मौद्रिक नीतिलाई खुकुलो पार्दै लानसक्छ भन्ने अनुमानले डोर्‍याइरहेको छ। सन् २०२४ को मध्यमा फेडले ब्याजदर कटौती गर्ने आशंका गरिएको छ। हुनत फेडका अध्यक्ष जुरोम पौउलले अहिले नै आवश्यक पर्याप्त नीतिगत कडाइ गरिसकेको ठहर गर्नु अपरिपक्व हुने बताएका छन्। डिसेम्बरमा हुने बैठकमा अहिलेकै दरमा ब्याजदर छोड्ने सम्भावना पावेलले देखाएका हुन्। फेडले सन् २०२२ मार्चमा शून्यमा रहेको ब्याजदर बढाएर गत जुलाईसम्ममा ५ प्रतिशत पुर्‍याएको छ। आगामी मार्चसम्ममा फेडले ब्याजदर कटौती गर्ने सम्भावना लगानीकर्ताहरूले देखिरहेका छन्। फेडले ब्याजदर कटौती गर्दा सुनको मूल्य बढ्ने र ब्याजदर बढाउँदा भने सुनको मूल्य घट्ने धेरै लगानीकर्ताहरूको मान्यता छ। फेडले ब्याजदर बढाउँदा लगानीकर्ता अन्य उपकरण सरकारी ऋणपत्र लगायतमा धेरै प्रतिफल हुने भएकोले त्यता आकर्षित हुने मानिन्छ। तर, लगानीकर्ताले सोचे जसरी यसको सोझो प्रभाव भने नदेखिने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम इन्भेष्टोपीडीयाले लेखेको छ। विश्वका केन्द्रीय बैंकहरूले समेत सुनको खरिददारी घटाउने सम्भावना नरहेकोले पनि सुनको मूल्य थप बढ्दै जाने अनुमान गरिएको छ। वर्ल्ड गोल्ड काउन्सिलको सर्वेक्षणले आगामी वर्ष २४ प्रतिशत केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने खुलासा समेत गरेको छ।

सम्बन्धित समाचार