झापा । यस्तो स्वास्थ्य संकटका बेला अग्र मोर्चामा खटिएर कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई दिनुपर्ने रकम समेत नदिनेलाई के भन्ने ? नेताका नाममा करोडौं निकास गर्ने सरकारले कोरोना कहरसँग लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको जोखिम भत्ता समेत उपलब्ध गराएको छैन ।
मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् ।
सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरेका हुन् । यही भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा। लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताए । डा पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए ।
‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ”, उनले भने,’सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु पर्यो ।’ उनका अनुसार उनीहरुको माग सुनुवाई नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए । उनले प्रक्रिया पुर्याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, ‘सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उहाँहरुको मागको सम्बोधन हुन्छ ।’ अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए ।