free website hit counter

किन समातिए नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ

beemaadmin
२०८३ बैशाख १६, बुधबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आशंकामा अनुसन्धान गर्दै जाँदा श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउबारे एआईजी मनोज केसीले पुष्टि गरेका छन्।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ४६ वर्षीय श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो। नेपाल बीमा प्राधिकरणले बैशाख ८ गते नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको भन्दै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो । प्राधिकरणको आकस्मिक निरीक्षणका क्रममा कम्पनी र यसका पदाधिकारीहरूको संलग्नतामा गम्भीर आर्थिक वा प्रशासनिक अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सुझाव दिइएको थियो । विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको पाइए पछि श्रेष्ठ पक्राउ परेका हुन् । व्यवसायी दीपक भट्टको नाममा उधारोमा किनेको सेयरको भुक्तानी हिमालयन रिइन्स्योरेन्ससँगै नेपाल माइक्रो इन्स्योरेन्सबाट पनि भुक्तानी हुनेसक्ने आशंका गरिएको छ । भट्टलाई उधारोमा सेयर किनिदिने भृकुटी स्टक ब्रोकिङले नेपाल माइक्रो इन्स्योरेन्सलाई १६ करोड १७ लाख रूपैयाँ तिर्न बाँकी छ । सो विषयमा बिमा प्राधिकरणको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । सोही क्रममा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालत, बबरमहलबाट बैशाख १४ गते अनुमति लिइएको थियो । अदालतको अनुमति पाएको भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि बीमा ऐन विपरीतका कार्य गरी सर्वसाधारण वा संस्थालाई हानी नोक्सानी पुऱ्याएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार