free website hit counter

किशोरी बलात्कार आरोपमा समातिए ‘गुरुबा’

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौँ । दूरदराजमा मात्रै होइन राजधानीमा पनि दिनदिनै महिला हिंसाका घटना भइरहेका छन् । त्यसमाथि शिक्षाको उज्यालो दिने गुरुहरुले नै आफ्ना विद्यार्थीमाथि यौन शोषण गर्ने गरेका घटना बेला बेला बाहिर आउने गरेका छन् । १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । मजदुरीका क्रममा भारत गएका बुबाआमासँग उतै रहेकी किशोरी तीन वर्षअघि नेपाल फर्केर आफन्तकहाँ बस्दै आएकी थिइन् । ललितपुर प्रहरीका अनुसार किशोरीको प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । तर केप्छाकीले आरोप अस्वीकार गरेकाले प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ ।

सोधपुछका क्रममा किशोरीले दुई महिनादेखि महिनावारी रोकिएको बताएकी थिइन् । किशोरीले प्रहरीसँग सुरुमा आफूमाथि आफन्तबाटै यौनहिंसा भएको बताए पनि केप्छाकी पक्राउ परेपछि फरक बयान दिएकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले पीडितले बयान फेरेका कारण सुरुमै जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नसकिएको बताइन् । बलात्कार आरोपबारे सोधपुछमा जाँदा केप्छाकीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसबेलासम्म प्रहरीमा जाहेरी पनि दर्ता भएको थिएन ।

जाहेरी दर्ता गरेपछि पक्राउ गर्दा आरोपित भाग्ने आशंकामा प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर केप्छाकीविरुद्ध मुद्दा चलायो । अभद्रको कसुरमा हिरासतमा राख्ने सुरुको म्याद मंगलबार सकिँदै छ । पीडितलाई आश्रय दिइरहेको संस्थाले केप्छाकीविरुद्ध जबर्जस्ती करणीको आरोपमा आइतबार प्रहरीमा जाहेरी दिएको छ । करणीको जाहेरी परेपछि वृत्तले जिल्ला अदालत ललितपुरबाटै अनुमति लिएर थप अनुसन्धान अघि बढाउन लागेको हो ।

किशोरीको नियमित महिनावारी रोकिएपछि सहपाठी र वरपरकाले घटना कसरी भयो भन्नेबारे सोधपुछ गरेका थिए । त्यसपछि घटनाबारे शिक्षक केप्छाकी शंकाको घेरामा तानिएका हुन् । किशोरीसँग प्रहरीले सोधपुछ गर्दा कुरामा तालमेल नमिल्ने, हडबडाउने, अनुसन्धान नगर्न आग्रह गर्ने र अनुसन्धान गरेमा मर्छु भन्नेजस्ता अस्वाभाविक स्वभाव देखाएको एसएसपी वज्राचार्यले बताइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार