काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २९३ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा गत आर्थिक वर्षमा बढेर ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र सञ्चालन मुनाफामा भएको सुधारले मुख्य योगदान गरेको देखिन्छ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा यस्तो आम्दानी ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको थियो।
यसैगरी, सञ्चालन मुनाफा १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
नाफामा भएको उल्लेख्य वृद्धिको प्रभाव बैंकको प्रतिशेयर आम्दानीमा पनि परेको छ। अघिल्लो आर्थिक वर्षमा ६ रुपैयाँ ९४ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ।
तर, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ६.९५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षमा बढेर ७.४६ प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक अवस्थाबाट धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा समेत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ७४ करोड रुपैयाँ रहेको जगेडा कोष गत आर्थिक वर्षमा बढेर १७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा कर्जा तथा निक्षेप दुवै विस्तार गरेको छ।
ग्राहकलाई प्रवाह गरिएको कर्जा अघिल्लो आर्थिक वर्षको २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको निक्षेप संकलन ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबाट बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा करिब ४ खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल सम्पत्ति गत आर्थिक वर्षमा बढेर करिब ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।