काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारणसभा पुस ३० गते बुधबार आयोजना गर्ने भएको छ। मंसिर २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्नेछ । यसअघि कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले चालू वर्षका लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले लाभांश पारित गर्ने कुनै पनि एजेन्डा तोकिएको छैन । साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू माथि छलफल गरी पारित गरिनेछ। त्यसैगरी बैंकका सहायक कम्पनीहरू कुमारी क्यापिटल लिमिटेड र केबीएल सेक्युरिटिज लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ। साधारणसभा प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।