काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार एक बीमालेखमा एक करोड रुपैयाँसम्मको बीमाङ्क रकममा ८० प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बीमाङ्क रकममा ५० प्रतिशत अनुदान दिइनेछ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी ‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ जारी गरेको हो ।
कृषि व्यवसायमा हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षण प्रदान गर्ने उद्देश्यसहित ल्याइएको नयाँ कार्यविधि २०८३ भदौ १ गतेदेखि लागू भएको हो । कार्यविधि कृषि, वन तथा पर्यावरण मन्त्रीबाट २०८३ साउन २६ गते स्वीकृत भएको उल्लेख छ ।
कार्यविधिको अनुसूची–२ मा अनुदानको नयाँ दर तोकिएको छ । जसअनुसार एक करोड रुपैयाँसम्मको बीमाङ्क रकममा ८० प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बीमाङ्क रकममा ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ । उक्त दर मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको निर्णयबाट स्वीकृत भएको हो ।
नयाँ कार्यविधिले बीमा कार्यक्रमको बजेट व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारीसमेत स्पष्ट गरेको छ । मन्त्रालयले सशर्त वित्तीय हस्तान्तरणमार्फत सम्बन्धित प्रदेशमा बजेट उपलब्ध गराउनेछ । सम्बन्धित प्रदेशले स्वीकृत बजेट तथा कार्यविधिअनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
बीमा प्रिमियम अनुदानका लागि बीमकले आफूले जारी गरेका बीमालेखको सम्पूर्ण विवरण प्रत्येक महिना समाप्त भएको सात दिनभित्र नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । जारी भएका बीमालेखका आधारमा सम्बन्धित प्रदेशबाटै बीमा प्रिमियम अनुदानको भुक्तानी हुनेछ ।
कार्यविधिले कार्यक्रमको समन्वयका लागि प्रदेशस्तरीय समन्वय समितिको समेत व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता तथा अनुदानको सदुपयोगबारे मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कृषि विभाग, पशु सेवा विभाग तथा सम्बन्धित प्रदेशका निकायले अनुगमन गर्न सक्नेछन् ।
नयाँ कार्यविधि लागू भएसँगै यसअघि रहेको ‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८२’ खारेज गरिएको छ ।
नयाँ कार्यविधिको अनुसूची–१ मा अनुदान प्राप्त गर्ने विभिन्न कृषि, पशुपन्छी तथा पशुधन बीमालेख समावेश गरिएको छ । यसमा अदुवा, अलैंची, आँप, आलु, उखु, कफी, कागती, किवी, केरा, खाद्यान्न बाली, चिया, च्याउ, ड्रागन फल, तरकारी, धान, फलफूल, बेसार, सुन्तला, ओखर, स्याउलगायतका कृषि बीमा तथा पशुपन्छी र पशुधनसम्बन्धी बीमालेख रहेका छन् ।