काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान दिन २ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार किसानलाई बीमामा आकर्षित गर्दै कृषि क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्न उक्त अनुदान उपलब्ध गराउन लागिएको हो ।
प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य अप्रत्याशित घटनाबाट बाली, पशुधन र मत्स्य क्षेत्रमा हुने क्षतिबाट किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सरकारले बीमा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
सरकारले ‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यस व्यवस्थाअनुसार कृषि तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिनेछ भने किसानले बाँकी २० प्रतिशत रकम मात्र तिर्नुपर्नेछ ।
उदाहरणका लागि, कुनै कृषि वा पशु बीमाको कुल प्रिमियम १० हजार रुपैयाँ भएमा सरकारले ८ हजार रुपैयाँ अनुदान दिनेछ । किसानले भने २ हजार रुपैयाँ मात्र तिरेर बीमा गर्न सक्नेछन् ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न र कृषकलाई राहत उपलब्ध गराउन संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गरेर काम भइरहेको बताएकी छन् ।
उनका अनुसार सरकारले किसानको जोखिम न्यूनीकरण गर्न बाली, पशुपन्छी तथा मत्स्य बीमाको व्यवस्था गरी प्रिमियममा अनुदान दिँदै आएको छ ।
सरकारको अनुदानले किसानलाई बीमामा सहभागी हुन सहज बनाउने र कृषि क्षेत्रमा हुने सम्भावित क्षतिका कारण सिर्जना हुने आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।