free website hit counter

कोरोनाले थोरैलाई मार्नेछ, धेरैलाई बचाउनेछ

beemaadmin
२०७७ बैशाख २०, शनिबार

खुसी कुनै पदार्थ हैन | यो मनको अवस्था हो अर्थात् State of mind हो | त्यस्तै दुख एबम तनाब पनि मनका अवस्था हुन् | यी अवस्थासंग समभाव राख्ने, बिचलित नहुने तथा धैर्यता भएको व्यक्ति जीवनको लामो यात्रामा आनन्दित हुन्छ | कोरोना संक्रमणको कारण लकडाउन, सेमी लकडाउन वा नियन्त्रित जीवन बिताउनु परेपनि यो युगलाई हामीले खुसीसाथ स्वागत गर्नुको अर्को बिकल्प छैन | खुसी पदार्थ नभएपनि पदार्थले खुसीको बाटोमा हिंड्न सहयोगी पक्कै हुन्छ | यो अवस्थामा जीवनलाई सार्थक बनाउन उल्लेखित बुँदा उपयोगी हुनेछन |
– घरमा थर्मोमिटर, ब्लडप्रेसर सेट, पल्स अक्सिमिटर, ग्लुकोमिटर ( सुगर जाँच्न ), पारासिटामोल, खोकी तथा सास फेर्न सजिलो हुने औषधि राख्नुहोस् | खानेकुराको स्टक राख्नुहोस् | पानी, इन्टरनेट, बिजुली लगायतका अत्यावश्यक कुरा ब्यबस्था गर्नुहोस् | यसले तपाइंलाई तनावरहित बनाउनेछ |
– यो बेलामा तपाइंले आफ्नो जीवनशैली परिवर्तन गर्ने अवसर हो | रक्सी, चुरोट, सुर्ती, गाँजा, स्लिपिंग ट्याब्लेट तथा अन्य लागु पदार्थ बिस्तारै घटाउँदै छोड्न सकिन्छ | त्यस्तै आफुले चाहे अनुसारको आफ्नो शारीरिक तथा मानसिक परिवर्तन ल्याउन सकिन्छ | जस्तै ; तौल घटाउने वा बढाउने, ब्यायाम, योग, ध्यान, नाचगान आदि गर्ने | मधुमेह भएका व्यक्तिले कार्बोहाइड्रेट कम खाने, ब्लडप्रेसर भएका व्यक्तिले नुन, चिल्लो कम खाने आदि गरेर आफ्नो औषधिको मात्रा घटाउने यात्रामा जान सकिन्छ | यदि तपाईं रिसाहा हुनुहुन्छ भने रिसलाई नियन्त्रण गर्ने अभ्यास गर्ने यो सुनौलो अवसर हो | हाँस्ने, जोक पढ्ने, कमेडी फ्लिम हेर्ने, आफ्नो सर्कल बढाउने जस्ता काम गर्न सकिन्छ | आफ्नो कामबाट तनाब भएको छ भने काम फेर्ने यो राम्रो अवसर हो | तपाइले जीवनभर त्यहि काम गर्नुपर्छ भन्ने छैन | यसको लागि योजना बनाउने समय हामीसंग छ |
-सकारात्मक बिचार भएका, आशाबादी प्रकृति भएका तथा सहयोगी नयाँ साथी बनाउने, पुराना साथीहरुसंग सम्पर्क नबिकरण गर्ने र आफुसंग भएको क्षमता उजागर गर्ने यो उपयुक्त समय हो |
– तपाइंसंग केहि यस्ता उपयोगी बिषयहरु छन् जुन अरुलाई पनि उपयोगी हुन्छन | त्यस्ता बिषय सेयर गर्ने, आफुलाई थाहा भएका सुबिधा तथा अवसर अरुलाई जानकारी दिने लगायतका सामाजिक काम गर्ने यो उपयुक्त अवसर हो |

– सकारात्मक कुरामा खुसी हुन सिक्नुहोस् | मनमा आउने काम, क्रोध, लोभ, मोहजस्ता मनोवृत्तिबाट आफुलाई अलग राख्ने प्रयत्न गर्नुहोस् | मेरो कसैसंग तुलना छैन, प्रतिष्पर्धा छैन, बैमनश्यता छैन, मनमुटाव छैन, पूर्वाग्रह छैन भन्ने भावलाई हुर्काउन प्रयत्न गर्नुहोस् | भ्रष्ट्राचार गर्ने, शोषण गर्ने, अप्रिय काम गर्ने लगायतका दुस्कर्म त्याग्ने यो राम्रो अवसर हो | हामीलाई थोरै कुराले पुग्दछ, जसरी अहिले पुगिरहेको छ | सबै मिलेर काम गर्ने, संगै बाँच्ने, संगै हाँस्ने संस्कार सिक्ने यो राम्रो मौका हो | आफुले गरेको गल्ती र अरुले आफुमाथि गरेको अन्यायप्रति क्षमाशील हुने यो राम्रो समय हो | आफु सुध्रिने यात्रा गाह्रो भएपनि यो अत्यन्तै सुन्दर छ |
– आफ्नो पारिवारिक जीवन सुन्दर बनाउने यो राम्रो अवसर हो | यो समयमा आफ्नो पारिवारिक सदस्यसंग जति सक्यो धेरै समय व्यतित गर्नुहोला | कुनै मिस अन्डरस्टान्डिन्ग छन् भने त्यसलाई विश्वासले जित्नुहोस | केटाकेटीसंग घुलमिल हुनुहोस् | दिनको आधा घण्टा उनीहरुलाई नैतिक शिक्षा, आफ्नो संस्कार, पारिवारिक महत्व तथा राष्ट्रप्रेम सिकाउनुहोस् | सबैजना मिलेर पकाउने, घर सफा गर्ने, करेसाबारीमा काम गर्ने तथा खेल्ने गर्नुहोस् | सबैको रुची अनुसारका फ्लिम हेर्नुहोस् | एकले अर्कोको रुचिलाई बुझ्दै तदनुसार आफुलाई लचक गराउनु भयो भने सबै परिवारको रुचि तथा दृष्टिकोण मिल्दै जानेछ | एक अर्कोको भावना बुझ्ने प्रयत्न गर्नुहोस् | खुसी र चिन्ता बुझ्नुहोस् | यसले जीवन मधुर हुनेछ |
– कोरोना संक्रमणको महामारीले संसार ठप्प भएको छैन | आफ्नो समयमा सुर्योदय भएको छ, आफ्नो समयमा सुर्यास्त भएको छ | मानवजन्य प्रदुषणले विषाक्त भएको हावा स्वच्छ भएको छ, पशुपंक्षी रमाएका छन्, समुन्द्रमा माछाहरु नाचिरहेका छन् | फूल फुलेका छन्, रुख सफा देखिएका छन् | अर्थात संसार चलिरहेको छ | तसर्थ स्वच्छ हावा, सफा प्रकृति आदि हजारौं चिजमा ब्यापक सुधार भएको छ | यो स्वच्छताको अनुभव लिएर खुसी हुन सिकौं | आहा ! भन्न सिकौं |
– हरेक पदार्थ तथा जीवको आयु हुन्छ | त्यो समयको आयु सकियो | यो समयको पनि आयु सकिनेछ | त्यसपछि अर्को समय आउनेछ | त्यो समयले हामीलाई पारिवारिक, प्रकृतिप्रेमि, सहयोगी तथा निर्लोभी बनाउनेछ | हामी सबैको जसरी जन्म हुन्छ, वृद्धि हुन्छ, रोग लाग्छ, मृत्यु हुन्छ, यो शाश्वत तथ्य हो | जति दिन हाम्रो स्वास्थ्यले धान्छ, त्यति दिन हामी बाँच्नेछौं | स्वास्थ्यले धान्न छोड्यो भने अरबौं खर्च गरेपनि हामीले मृत्युलाई टार्न सक्दैनौं | तसर्थ मृत्युप्रति सकारात्मक हुन हामीले सिक्नु पर्दछ | मृत्यु मोक्ष हो, समाधि हो, स्वर्ग हो |
– हामीले आफ्नो ब्रेनलाई फर्म्याट गर्नु जरुरी छ | हामीभित्र रहेको असन्तुष्टि, तृष्णा र महत्वाकांक्षालाई फर्म्याट गरेर मानवता, प्रेम र भाइचाराको सफ्टवेयर इन्स्टल गर्नु आबश्यक छ | त्यो तनावपूर्ण र मृगतृष्णारुपी जीवनलाई सरल र सरस बनाउने त्यो सफ्टवेयरले हामीलाई वास्तविक जीवनको आनन्द र अर्थ दिनेछ | माया, दया, करुणा, समबेदना, सह अस्तित्व, सदाचार तथा सात्विक जीवन बनाउने यात्रामा आजै लागौं |
– कोरोना भाइरससंग हामीले डर मान्नुपर्दैन | कोरोना भाइरस हावाबाट उडेर आउने होइन | हामीलाई खोज्दै आउने होइन | संसारभर अझै ब्यापक भएपनि डर मान्नु पर्दैन | आफैलाई लागेपनि डर मान्नु पर्दैन | ३ % मृत्युदर भएको यो भाइरससंग ३ लाख % त्रास मान्नुपर्ने अवस्था छैन | हामीभित्रको क्षमता बलियो छ भने हामीले कोरोना भाइरसलाई परास्त गर्छौं | हामीभित्र क्षमता कमजोर छ भने कोरोना भाइरसले हामीलाई पराजित गर्छ | यो विजय र पराजयको यात्रा पहिले पनि थियो, पछि पनि हुनेछ | जन्मेदेखि नै हामी लड्दै आएका छौं, कमजोरलाई जित्दै आएका छौं, बलियोसँग पराजित हुँदै आएका छौं | यो नियमित प्रक्रियालाई हामीले आत्मसात गर्नुपर्छ |
– एकदिन हामी सबै यो भाइरससंग जम्काभेट हुनु नै छ | रोगको रुपमा वा खोपको रुपमा | यो भाइरसले थोरैलाई मार्नेछ, धेरैलाई बचाउनेछ – एन्टिबोडी बनाएर |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार