काठमाडौं । नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठकले कोरोना बीमाको दाबी भुक्तानीलाई अझै सहज बनाउने निर्णय भएको छ । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको बैठकमा अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले कोरोना बीमाको दावी भुक्तानीमा उत्पन्न भएका अप्ठेराहरुको विषयमा छलफल गर्दै थप सरल र सहजीकरण गर्ने निर्णय भएको संघले जनाएको छ ।
संघका पूर्ण बैठकमा कोरोना बीमा दावी भुक्तानीको लागि नेपाल सरकारले पठाएको ४१ करोड रुपैयाँ कसरी वितरण गर्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक सिईओले जानकारी दिए । सरकारबाट प्राप्त रकम सबै कम्पनीलाई वितरण गर्ने निर्णय गरिएको छ । नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानीका समस्यामा उत्पन्न भएको प्राविधिक समस्याहरुमाथि छलफल गरी दावी भुक्तानी थप सरल, सहज र छरितो बनाउने निर्णय भएको बताए ।
संघको बैठकमा कोरोना बीमाको दावी भुक्तानी गर्दा बीमितको नामको हिज्जे फरक परेर उत्पन्न समस्या, जन्म मितिमा उत्पन्न समस्या लगायतका विषयमा गहन छलफल गरी थप सहजिकरण गर्ने निर्णय गरिएको छ । बैठकले कोरोना बीमाको दावी भुक्तानीको लागि आवश्यक रकम जोहो गर्न पुल व्यवस्थापक कम्पनीले विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ ।
कोरोना बीमाको दावी भुक्तानीको लागि रकम अभाव हुँदै गएको अवस्थामा रकम जोहो गर्न पुल व्यवस्थापक कम्पनीलाई अग्रसरता लिन कार्यदेश दिइएको छ । सो प्रजोजनको लागि बीमा समिति, बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीसँग पुल व्यवस्थापक कम्पनीले सहजिकरण गर्नेछ । कोरोना बीमा पुलको व्यवस्थापन शिखर इन्स्योरेन्स कम्पनीले गर्दै आएको छ ।