free website hit counter

कोरोना बीमा पुलमा सरकारको ४१ करोड

beemaadmin
२०७७ पुष २८, मंगलवार

काठमाडौं । सरकारले कोरोना बीमा पुलमा ४१ करोड रुपैयाँ बुझाएको छ । कोरोना बीमा पुलमा दावी भुक्तानीको लागि रकम अभाव भएपछि बीमा समिति र बीमक संघको पहलमा सरकारले गत कार्तिक मसान्तसम्मको कोरोना बीमा बापतको ४१ करोड रुपैयाँ पठाएको जनाइएको छ ।
सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमै कोरोना बीमालाई समावेश गरी सर्वसाधारणको कोरोना बीमा शुल्कमा ५० प्रतिशत र सबै निजामति कर्मचारीलाई शतप्रतिशत शुल्क सरकारले अनुदानबापत व्यहार्ने घोषणा गरेको थियो । सो अनुसार बीमा कम्पनीहरुले सरकारी कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गराएका थिए । कोरोना बीमा गरेका हजारौं सरकारी कर्मचारीहरुले बीमा बापतको रकम माग गर्दै बीमा कम्पनीमा फाइल बुझाएपनि कम्पनीहरुले बीमा शुल्क नपाएका कारण कोरोना बीमा पुलमा रकम अभाव भएको थियो ।
सरकारले रकम दिएपछि कोरोना बीमा पुलमा चर्को आर्थिक अभावमा केही सहज भएको एक बीमा कम्पनीका सिईओले जानकारी दिए । कोरोना बीमाको लागि झण्डै छ अर्ब रुपैयाँ बीमा पुलले जोहो गर्नुपर्ने भएको छ । हजारौं कोरोना संक्रमितहरुलाई दावी भुक्तानीको लागि सबै कागजी प्रक्रिया पूरा भएको भएपनि रकम अभावले समस्या पारिरहेको छ ।
कोरोना बीमा पुलमा यसअघि नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ रकम पठाइसकेको छ । पुनर्बीमा कम्पनीले अझै ७० करोड पठाउन बाँकी छ । अब बीमा समितिले एक १ रुपैयाँ, बीमा कम्पनीहरुले महाविपत्ति कोषबाट दिने ५० करोड रुपैयाँ बाँकी छ ।

सम्बन्धित समाचार