free website hit counter

कोही कसैको काल बनेर विवाह मण्डपबाटै छिरेपछि…

beemaadmin
२०७८ असार १, मंगलवार

काठमाडौं । अग्नि साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कमस खाएकाहरु बीचैमा कसम तोडेर मन भाँड्न थालेपछि ठूलो दुर्घटनामा पर्छन् । प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पिस्तोलबाट गोली चलाई मार्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि हिजो घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा निधन भएको हो । प्रारम्भिक अनुसन्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच खटपट शुरु हुनु स्वाभाविक हो ।
त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रिसाउन थाले । यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा धम्की दिन थाले । एवम् रीतले लोग्ने( स्वास्नीबीच असमझदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सिध्याउने योजना बुनेको रहस्य खुलेको हो । ३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सिध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बिचल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मार्न लगाएको स्वीकारेकी छन् । शंकास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शंका लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो । सबै पक्षबाट हत्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो । हत्यामा प्रयोग गरिएका हतियार पनि प्रहरीले सबै बरामद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फायर गरेको देखिएको छ । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फायर खोलेका थिए । सबैभन्दा अचम्मचाहिँ दुबै हतियारबाट पाण्डेयमाथि एकैचोटी फायर भएको थियो । उनलाई दुई गोली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ ।

सम्बन्धित समाचार