मुम्बई । भारत, जहाँ बलात्कारीलाई मृत्युदण्डको सजायँ छ । तै पनि बलात्कारका घटना घटिनै रहेकाछन् । क्वारेन्टाईनमा रहेकी एक महिला भारतमा सामुहिक बलात्कारको शिकार भएकी छिन्। लकडाउनका बीच राजस्थानको एक विद्यालयमा उनलाई एक रातका लागि क्वारेन्टाईनमा राख्ने क्रममा उनीमाथि सामुहिक बलात्कार भएको हो। यो पछिल्लो साताको घटना भएको संचारमाध्यमले जनाएका छन्। दैनिक ज्याला मजदुरी गर्ने पिडित महिला घर पुग्नका लागि कैयौँ किलोमिटर हिँडेकी थिइन्। आश्रय खोज्ने क्रममा सो साँझ उनी पुलिस स्टेशन पुगेकी थिइन्। तर क्वारेन्टाईन केन्द्रको अभावमा स्थानिय प्रहरीले उनलाई एक विद्यालयको भवनमा राखेको थियो जहाँ उनको तीन पुरुषले बलात्कार गरेको बताइएको छ।
अप्रिल २३ मा बलात्कार गर्ने ती तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। अन्दाजी ४० देखि ४५ वर्षकी पिडित महिला कैयौँ दिनदेखि सवाई माधोपुरबाट हिँडेकी थिइन्। तर आफ्नो गाउँ पुग्न अगावै उनको बलात्कार भएको थियो। उनलाई कोरोना परीक्षणका लागि पठाइएको छ। गत महिना भारतले शुरु गरेको लकडाउनका कारण काम गुमाएका हजारौँ मजदुरहरु शहरबाट गाउँसम्म्म पुग्न कैयन दिन हिँड्न बाध्य बनेका छन्। तीमध्ये धेरैजसो भिडभाड भएको क्वारेन्टाईन केन्द्रमा रहेका छन् र अधिकारीहरुलाई ती समस्याको सामना गर्न संघर्ष गर्नुपरेको छ। भारतमा हालसम्म २७ हजारभन्दा बढि कोरोना संक्रमित रहेका छन् भने आठ सयभन्दा बढिको ज्यान गइसकेका छन्। कडा कानुन रहेतापनि संघिय अपराध तथ्यांकका अनुसार भारतमा हरेक २० मिनेटमा बलात्कारका घटना हुने गरेको पाइएको छ। (एजेन्सी)