free website hit counter

क–कसले तिरे सबैभन्दा बढी कर

beemaadmin
२०७८ मंसिर २, बिहीबार

काठमाडौं । बजारमा आफूलाई नम्बरवार देखाउने तर कर तिर्ने बेलामा अरु नै कम्पनी नम्बरवान हुनेगरेका छन् । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले बुधबार सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेको छ । गत आर्थिक वर्षको आय विवरण अनुसार टेलिकमले सबैभन्दा बढी कर तिरे विभागले जनाएको छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपालले सबैभन्दा बढी आयकार दाखिला गरेको छ ।
त्यसैगरी, विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्सेर जंगबहादुर राणालाई सम्मानित गरेको छ । गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् ।
त्यस्तै, विभागले सर्वाधिक कर तिरेबापत विशेष उद्योगहरुमध्ये एशियन पेन्टस् (नेपाल), कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये पूर्वाञ्चल एग्रीटेकलाई सम्मानित गरेको छ । उता सूर्य नेपालले सबैभन्दा बढी कर दाखिला गरेको छ । विभागले आयकारका साथै मूल्य अभिवृद्धि कर र अन्तः शुल्क समेत सबैभन्दा बढी कूल कर रकम दाखिला गरेकोले सूर्य नेपाललाई सम्मान गरेको हो ।
स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज टिचिङ्ग, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल्स, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरी करदातामध्ये कर्जा सूचना केन्द्र कम्पनी र नियमित कर बुझाउनेमध्ये घोराहि सिमेन्ट ईण्डष्ट्रि रहेका छन् ।

सम्बन्धित समाचार