काठमाडौं ।राजनीतिमा लिखित सहमति त यता र उता व्याख्या गरेर आफ्नो अनुकुल बनाइन्छ भने मौखिक सहमतिलाई आधार मान्ने ठाउँ हुँदैन । हो, सबैको अपेक्षा थियो, रविसँगै भ्रष्टाचारको विरोधमा लागेका पूर्व प्रहरी अधिकारी रमेश खरेलको आवश्यकता संसदमा छ । तर त्यसो हुन सकेन । खरेल यस पटक मैदान बाहिरै रहे । काठमाडौं १ को चुनावी नतिजाले फेरि एकपटक कांग्रेसका प्रकाशमान सिंहलाई नै सदर गरिदिएको छ । नयाँ अनुहारको खोजी गरिरहेकाहरू निराश बनेका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्षमात्र १२५ मतले पछि पारेर प्रकाशमानले चौथो जित निश्चित गरेका हुन् । चुनावी प्रतिस्पर्धामा अन्य दुई उम्मेदवारलाई पनि उल्लेख्य मत आएको छ ।
उनीहरू हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल । उनीहरू दुवैले ७ हजारभन्दा बढी मत ल्याएका छन् । मतपरिणामपछि धेरैको टिप्पणी छ, परिवर्तनको नारा दिनेहरू आपसमा मिल्न नसक्दा परम्परागत शक्तिले फाइदा उठाए । हामीले सुशासन पार्टीका खरेललाई सोध्यौं, ‘यस्तो हुनसक्छ भन्ने जान्दा जान्दै किन आपसमा मिल्न सक्नुभएन ? खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ । खरेलले भने, मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।
खरेलको भनाइअनुसार दुवै पार्टीले काठमाडौंमा एउटै प्लेटफर्मबाट एकैपटक ४५ जना उम्मेदवार घोषणा गर्ने भद्र सहमति रवि लामिछानेसँग भएको थियो । दुवैले एक अर्को पार्टीसँग नजुधाउने गरी आआफ्ना उम्मेदवार उठाउने मौखिक समझदारी तोडिएको उनले गुनासो गरे । घण्टीको ठाएँमा मैले सपोर्ट गर्ने र हामी उठेको ठाउँमा घण्टीको उम्मेदवार नउठाउने जेन्टलमेन्ट अग्रिमेन्ट भएको थियो । रविजी र विराजभक्त श्रेष्ठसँग मैले कुरा गरेको हुँ । तर, त्यो सहमति ब्रेक भयो । राजनीतिक इमान्दारिताको पालना भएन, खरेलले भने । आफ्नो तर्फबाट पनि केही कमजोरी रहेको तर, जेन्टलमेन्ट एग्रिमेन्ट नतोडिएको भए परिस्थिति अर्को बन्न सक्ने खरेलको भनाइ छ ।
राप्रपाका मिश्रसँग भने कुनै छलफल नभएको उनले बताए । परम्परागत पार्टीमा प्रवेश गरेकाले मिश्रसँग सहमति प्रयास नगरेको उनको भनाइ छ । हामी परिवर्तन पक्षधरहरू हौं । उहाँ विवेकशील छाडेर राप्रपामा गइसकेपछि मिल्नसक्ने आधार नै भएन, खरेलले भने । आफूले पाएको मतलाई लिएर खरेल सन्तुष्ट नै छन् ।
उनले भने, म धन्यवाद दिन्छु मेरा मतदाताहरूलाई । असाध्यै आभारी छु । मलाई ३१ सयजना भन्दा बढीले पत्याइदिनुभयो । भर्खरै स्टार्ट भएको पार्टीका लागि यो पनि ठूलो कुरा हो । म सुशासनको एजेण्डा लिएर सधैँ अगाडि बढ्नेवाला छु । उनले अब परिवर्तन पक्षधर सबैले छातीमा हात राखेर इमान्दारिपूर्वक नयाँ शिराबाट अघि बढ्नुपर्नेमा जोड दिए । यसो नगरी यथाथस्थितिवादी पार्टीहरूलाई विस्थापित गर्न नसकिने उनको तर्क छ ।
‘जस्तो कन्डिसनमा पनि म तयार छु । अब आ–आफ्नो ढ्याङ्ग्रो बजाएर हुँदैन, खरेलले भने ।अब चुनावको मतगणना सकिनेवित्तिकै छलफलमा जुट्न उनको प्रस्ताव छ । आफू सम्पूर्ण त्याग गर्न तयार रहेको र कुनै पदका लागि दाबी नगर्ने उनले बताए ।
‘मलाई केही चाहिँदैन । तर, नयाँ शिराबाट जानुपर्छ । सबैको विचारलाई ‘मेल्टिङ पट’ मा राखेर पगालौं । अनि त्यसबाट सही विचारको संस्लेषण गरेर अगाडि लैजाऔं । त्यसरी जानसके सम्भव छ । नत्र कांग्रेस, कम्युनिष्ट, राप्रपाजस्ता परम्परागत शक्तिहरूले नै हालीमुहाली गरिरहन्छन्, खरेलले भने । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतसँग खुशी छन् खरेल । तर, यो तात्कालीक वितृष्णाको मत मात्र हुन सक्ने उनको बुझाइ छ । परिवर्तन आकांक्षी यो जनमतलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।
रविजी पपुलर हुनुहुन्थ्यो आफ्नो ठाउँमा छ । तर, यो वितृष्णाको मत हो । यसलाई रिटेन गर्न गाह्रो छ । त्यसैले उहाँहरुले पनि त्याग गर्नुपर्छ, अरुले पनि त्याग गर्नुपर्छ, खरेलले भने । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो एकता र सहकार्य अझै पनि सम्भव रहेको र यसमा आफू खुल्ला रहेको पनि खरेलले बताए । हामी सबै यो देशलाई माया गर्नेहरू एक ठाउँमा आउनैपर्छ । सबैजना आँखा चिम्लेर सोच्नुपर्छ । सबैले त्याग गर्न तयार हुनुपर्छ । म आफ्नो ठाउँबाट त्याग गर्न तयार छु, उनले भने ।