free website hit counter

खुला प्रतिस्पर्धा रोकेर सहसचिवलाई प्राधिकरणको जिम्मेवारी

beemaadmin
२०७६ माघ ९, बिहीबार

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई पटक सार्वजनिक सूचना जारी गर्दा पनि नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सकेन । मातृका यादव मन्त्री हुँदा रिक्त पदमा पहिलो पटक सार्वजनिक सूचना जारी गरिएको थियो ।

त्यसबेला ६ जनाले कार्यकारी निर्देशकका लागि आवेदन दिएका थिए । मातृका मन्त्रीबाट हटेर लेखराज भट्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै दोस्रो पटक पुनः मन्त्रालयले विज्ञापन आह्वान गर्दै १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना जारी गर्यो तर नयाँ मन्त्री भट्टले दुवै पटक निकालेका सूचनाअनुसार रिक्त पदमा नियुक्तिका लागि आवेदन दिएका आवेदकहरु प्रति चित्त नबुझेरै होला प्रक्रिया स्थगित गरेर अहिले मन्त्रालयले सहसचिव शोभाकान्त पौडेललाई प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिएको छ ।

Advertisement
Advertisement

मन्त्रीपरिषद्को माघ ६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार मन्त्री गोकुल बास्कोटाले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि सम्पूर्ण आर्थिक, प्रशासनिक अधिकार समेत प्रयोग गर्ने गरी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको बताएका छन् । सरकारको यो निर्णयपछि दुई पटक सार्वजनिक सूचना जारी भएर आवेदन दिएका ८ जना आवेदकहरुको प्रक्रिया के हुने ? भन्ने अन्योल सिर्जना भएको छ ।

Advertisement
Advertisement

आवेदन दिनेहरुमा यसअघि कार्यकारी निर्देशकको भूमिका निभाइसकेका चण्डिका भट्टलगायतका छन् । मन्त्रालय स्रोतकाअनुसार अहिलेको प्रक्रियालाई स्थगित गरी पुनः विज्ञापन आह्वान गर्ने सोच मन्त्रीको भएका कारण तत्कालका लागि मन्त्रालयले सहसचिवलाई जिम्मेवारी दिनेसमेतको प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको हो । अब यो निर्णयसँगै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी कार्य लम्बिन पुगेको र यसका लागि केही महिना लाग्ने सम्भावना बढेर गएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार