काठमाडौं । सरकार आफू खोप खरिदको प्रक्रिया अगाडि नबढाउने, दाताले दिएको खोप पनि आसेपासे र कार्यकर्तालाई बाँड्न तल्लिन भएपछि चौतर्फी विरोधका आवाजहरु बुलन्द हुन थालेका छन् । यही बेला नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ । संघले आईतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएको जनाएको हो । संघले दोस्रो लहरको कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको भन्दै संघले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत वेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो । खोपको विषयमा संघले बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको भएतापनि कुनै पनि कदम चालेको नदेखिएकाले स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति आवश्यक जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ भएका छौँ, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।