free website hit counter

गृहसचिवमा बाजी मार्दै गौतम

beemaadmin
२०७६ माघ १३, सोमबार

काठमाडौं । सरकारका सचिवमध्ये सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालयको सचिव पदमा सरुवा भएर जानका लागि सचिवहरुको दौडधूप शुरु भएको छ । वर्तमान गृहसचिव प्रेम राईको माघ २१ गतेबाट अवकाश हुने भएपछि सो पदमा जानका लागि सचिवहरु लालायित भएका हुन् । समाचार स्रोतकाअनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गृहसचिवमा सरुवा गर्ने व्यक्तिको छनोट गर्ने छ ।

उक्त पदमा जानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको दौडधूप चर्कै देखिइरहेको बेला प्रदेशमा मुख्यसचिव पदमा कार्यरत सचिवहरुले पनि सो पदमा दावी गरिरहेका छन् ।

प्रदेश १ का सचिव सुरेश अधिकारीले पनि सो पदमा जानका लागि शक्तिकेन्द्र धाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र प्रशासकलाई मात्र सो पदमा लान चाहेका कारण प्रधानमन्त्रीको विश्वस जितेका वा हालका सचिव प्रेम राईका विश्वासिला व्यक्तिलाई गृहसचिव बनाइने बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको रोजाईमा राई लगिएका थिएनन् प्रधानमन्त्रीको एकल निर्णयका आधारमा राई गृहसचिव बन्न सफल भएका थिए । अहिले पनि त्यही नियती दोहोरिने स्रोतको दाबी छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा कार्यरत सचिव सूर्यप्रसाद गौतमको चर्चा गृहसचिवमा खासै नभए पनि उनैलाई गृहसचिव बनाउने तयारी प्रधानमन्त्रीले गरिरहेको बुझिएको छ ।

संखुवासभाका स्थायी बासिन्दा गौतम वर्तमान गृहसचिव प्रेम राईका जिल्लावासी भएको र राईले प्रधानमन्त्री ओलीसँग सम्बन्ध जोडिदिएका कारण उनै गौतम गृहसचिव बन्ने लगभग पक्कापक्की जस्तै भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ । चर्चामा रहेका सचिव महेश्वर न्यौपानेको प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध नभएको र राईसँग सम्बन्ध सुमधुर नभएका कारण उनी गृहसचिवको दौडमा भए पनि उनको सम्भावना कम भएको देखिएको छ । भक्तपुर गुण्डुका न्यौपानेलाई गृहसचिवमा लैजान नेकपा नेता महेश बस्नेत लगायतका नेताहरु दौडधूपमा लागे पनि सफल हुने सम्भावना कम रहेको बताइन्छ ।

बस्नेत उद्योगमन्त्री हुँदा न्यौपानेलाई उद्योग विभागको महानिर्देशक बनाएका थिए । त्यस्तै पर्यटन सचिव केदारबहादुर अधिकारी केही समय अघिमात्रै पर्यटनमा सरुवा भएका र त्यहाँ रहँदा उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको चर्चाले पनि उनलाई गृहमा जान बल पुगेको छैन । धेरै मन्त्रालय र निकाय चाहार्ने सचिवको रुपमा अधिकारी चिनिन्छन् ।

उनी यसअघि स्वास्थ्य तथा जनसंख्या, प्रधामन्त्री कार्यालयमा २ पटक, सूचना तथा सञ्चार मन्त्रालयमा २ पटक गरी ६ पटक सरुवामा परिसकेका छन् । गृहका क्याडरका रुपमा मानिएका यादव कोइराला गृहमा जान जोडबल गर्नुको पछाडि उनलाई पनि नेकपाकै केही नेताहरुको साथ रहेको बताइन्छ । तर प्रधानमन्त्री ओली जसरी भए पनि राईको सिफारिशमा आफूलाई विश्वास लागेको व्यक्तिलाई गृहसचिव बनाउने योजनामा रहेका कारण सूर्य गौतमकै पल्लाभारी हुने सम्भावना बढेको हो । शिक्षामा लामो समय कार्यरत गौतम यसअघि महालेखा नियन्त्रक कार्यालय हुँदै भूमिसुधार मन्त्रालयमा सरुवा भएका हुन् ।

सम्बन्धित समाचार