free website hit counter

ग्राहकमुखी बीमा सेवा आजको आवश्यकता

beemaadmin
२०७६ पुष २६, शनिबार

बीमाको सिद्धान्तमा रहेर कुशल व्यवहारिक पक्षको कारणले बीमा व्यवसाय सफल हुन्छ । बीमाको सद्धान्तमा क्षतिपूर्तिको सिद्धान्त, बीमायोग्य हित, योगदानको सिद्धान्तमा आधारित हुन्छ । बीमकले बीमा शुल्क लिई जोखिम बहन गरेको हुनुपर्छ ।

कुनै कारणले धनजनको क्षति भएमा र बीमा गरिएको अवस्थामा क्षतिको पूर्ति बीमकले गर्नुलाई क्षतिपूर्तिको सिद्धान्त भनिन्छ । बीमा गरेर निर्जिवन बीमामा विमितले नाफा कमाउने होइन, क्षतिको पूर्ति लिई यथास्थितिमा फर्किनु हो न कि घर न घाटको हुनु होइन र गलत रुपमा बीमा दाबी भुक्तानी लिएर अझ धनि बन्नु पनि होइन । नसोचेको घटना घटेर आर्थिक भार परेमा त्यसलाई कायम राख्ननै बीमा गर्ने हो । यसैगरी बीमाको अन्य सिद्धान्तमा बीमायोग्य हित, परम सद्विश्वास, निकटतम कारणहरु पर्दछन् ।

विशेष गरी बीमक र बीमितको परम सदविश्वासमा यो व्यवसाय सञ्चालित हुन्छ । जीवन बीमामा बीमकले जोखिम बहन गरेर बिमित वा प्रस्तावकको स्वास्थ्य स्थिति र आम्दानी हेरेर जति पनि बीमालेख बिक्री गर्दछ र दावि भुक्तानी पनि सबैले गर्दछन् तर निर्जिवन बीमामा एउटै व्यक्ति वा वस्तुको बीमा धेरै धेरै बीमकसँग गरेर घटना घटी दाबी भुक्तानी परेमा उक्त क्षतिको पूर्ति बीमा गरिएको सबै बीमक मिलेर गर्दछन् नकि सबै विमकले पूरा विमाङ्क रकम भुक्तान गर्दैनन् । यसलाई कन्ट्रीब्यूसन, सर्वोग्रेसन भनिन्छ ।

बीमा क्षेत्रमा सुधार्न पर्ने व्यवहारहरु
सिद्धान्त त बीमाको जस्तो परिधि भए पनि व्यवहार समय सापेक्ष, भूगोल, संस्कृति, चालचलनअनुसार गर्नुपर्दछ । ग्राहकमुखी दाबी भुक्तानी हुनु जरुरी हुन्छ । यसको लागि बीमालेख जारी गर्दा नै धेरै कुराको ख्याल राख्नु पर्दछ । त्यसमा जोखिमको उचित मूल्याकन गरेर मात्र जोखिम बहन गर्नुपर्दछ । अन्दाजको भरमा जोखिम लिने दाबी पर्दा ढिलासुस्ती गर्नु हुँदैन । पहिल्यै वैज्ञानिक रुपमा जोखिमको उचित मूल्यांकन गरेर बीमालेख जारी गर्नु पर्दछ । बीमालेख जारी हुँदासम्म ग्राहक र बीमकबीचको सम्बन्ध व्यवहार सुमधुर हुन्छ जब घटना घट्छ तब बीमाको सिद्धान्त तर्फ मोडिएर व्यवहार परिवर्तन हुन्छ यही विडम्बना हो ।

बीमाको सिद्धान्तको आधारमा बीमा गरिन्छ वा यसलाई कानुनी करार मानिन्छ बीमितको जोखिम बहन गरे लगत्तै उक्त जोखिम पुर्नबीमकमा सार्नु पर्दछ वा पुनर्बिमा गर्नुपर्दछ । यसो गर्नाले दाबी भुक्तानीमा कुनै समस्या आउँदैन र ग्राहकसँगको सम्बन्ध प्रगाढ भई बीमा क्षेत्रको विस्तारमा सहयोग पुग्दछ ।

यसमा सान्दर्भिकताका कुरा व्यवहार भन्नाले दाबी भुक्तानीमा केन्द्रीत हुन्छ जसमा सरल, सहज, जति सक्दो छिटो गरी क्षतिको पूर्ति गरिदिनु पर्दछ । यसो गर्दा ग्राहक सन्तुष्ट भई बीमाको आवश्यकता र महत्वको विषयमा चिनेजानेका इष्टमित्र, समकक्षि साथीहरुसँग कुरा गर्दछन् र यसले मौखिक विज्ञापनको रुप लिन्छ । यस्तो विज्ञापन निःशुल्क र शक्तिशालि हुन्छ । यसको मतलब पैसा तिरेर गरिने विज्ञापन भन्दा कयौं गुणा प्रेरणदायी हुन्छ ।

यस्तो व्यवहारले गर्दा बीमाको पहुँच र दायरा बढ्न गई प्रत्येक नागरिकले बीमालाई अनिवार्य आवश्यकता ठान्दछन् र बीमक, अभिकर्ताले ग्राहक खोज्नु पर्दैन । बरु ग्राहकले बीमक, अभिकर्तालाई खोज्ने स्थिति सिर्जना भई बीमामय नेपाल बन्दछ । त्यसैले बीमाको सिद्धान्त आफ्नो स्थानमा रहन्छ । तर व्यवहार परिवर्तनमुखी नभई समय सापेक्ष ग्राहकमुखी हुनुपर्दछ ।

सर्भेयरको भूमिका (दावी भुक्तानीमा)

जसरी बीमाअभिकर्ता बीमा कम्पनीको मेरुदण्ड हो त्यसैगरी दावी भुक्तानीमा सर्भेयर मेरुदण्ड हो । बीमा सर्भेयर भनेको निर्जिवन बीमाम क्षति भएको सम्पत्तिको लेखाजोखा गर्ने स्वतन्त्र व्यक्ति बीमा समितिको इजाजत प्राप्त व्यक्ति हो । उक्त व्यक्तिले बीमकको आग्रहमा क्षतिको मूल्यांकन गरेर बीमकलाई विवरण पेश गर्दछ र सोही प्रतिवेदनअनुसारनै बीमकले क्षतिपूर्तिको सिद्धान्तअनुसार दाबी भुक्तानी बीमितलाई गर्दछन् ।

सर्भेयरले आफ्नो काम कर्तव्य र अधिकार तथा जिम्मेवारी उचित तरिकाले बहन गर्नुपर्दछ । सर्भेयर भनेको बीमक र बीमितबीचको पुल हो । जसले पुल भत्काएर सम्बन्ध विगार्ने होइनकि मर्मत गरेर सम्बन्धलालाई उचाईमा पुर्याउने हो । यसमा कुनै बैरभाव नराखी क्षतिको उचित मूल्यांन गरेर आफ्नो इजाजतको सम्मान गर्नुपर्दछ ।

निर्जिवन बीमामा दाबी भुक्तानी बीमकले बीमितलाई दिने प्रमुख आधार भनेकै सर्भेयरको स्थलगत रिपोर्टमा भर पर्दछ र निःश्वार्थ पूर्ण गरेको मूल्यांकनले बीमक र विमितको हित गर्दछ । भौतिक सम्पत्ति, दुर्घटना, व्यापार व्यवसाय, आर्थिक लगानी सामाजिक सुरक्षा लगायतको जोखिम बहन निर्जिवन बीमकले गर्दछ ।

यहाँ सर्भेयरले सिद्धान्त अक्षरस निति नियम पालना नगर्दा दाबी भुक्तानीमा समस्या आई ग्राहक असन्तुष्ट भई बीमा बजारको नकारात्मक प्रचार हुन सक्दछ । र, बीमा व्यवसायको प्रगतिको ढोका बन्द हुन सक्छ । यो घातक सिद्ध हुन्छ । यदि बीमक, विमित र सर्भेयरले बीमाको सिद्धान्तलाई अक्षरस पालना गरेमा बीमा दाबी भुक्तानी छिटो भई बीमा बजारमा सकारात्मक सन्देश जाने निश्चित छ ।

अर्काको सिको होइन आफैं सिर्जना गरौं
बीमा क्षेत्रमा प्राय सिद्धान्त केही मात्रामा आयातित भए पनि व्यवहार आफैं परिवर्तित हुन्छन् र हुनै पर्दछ । कारण के हो भने कतिपय बीमालेखका सर्त सुविधाहरु विदेशबाट आयातित हुन्छन् र हाम्रो नेपालमा समय सान्दर्भिक नहुन सक्छन् । जसरी तेस्रो पक्ष निर्जिवन बीमाको क्षेत्र १७ हजार ५०० बाट पाँच लाखसम्म पुर्याइयो भने त्यसैगरी अन्य शर्त सुविधाहरु बजारमा समय सापेक्ष रुपमा लागू हुनेगरी पस्किनु पर्दछ । यसरी बीमा व्यवसाय जनतामुखी भई आकर्षणको केन्द्र बन्दछ ।

सम्बन्धित समाचार