free website hit counter

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित

beemaadmin
२०८३ कार्तिक १०, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने उक्त अवार्डबाट बैंक लगातार तेस्रो वर्ष सम्मानित भएको हो ।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

Advertisement
Advertisement

ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी र ग्राहकमैत्री नवप्रवर्तनलाई अवार्डका लागि मूल्याङ्कनको आधार बनाइएको थियो । यसका साथै आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई पनि मूल्याङ्कन गरिएको थियो ।

Advertisement
Advertisement

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न वित्तीय संस्थालाई समेत सम्मान गरिएको थियो । बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आईसीबीसी, यूओबी मलेसिया, सिटी बैंक बङ्गलादेश र एमयूएफजी बैंक जापानलगायतका बैंक विभिन्न विधामा पुरस्कृत भएका थिए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरेको थियो ।

त्यस्तै, बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । बैंकले ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको छ ।

लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि बैंकले यसबाट सेवा थप प्रभावकारी बनाउन प्रोत्साहन मिलेको जनाएको छ । बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

सम्बन्धित समाचार