free website hit counter

ग्लोबल आइएमई बैंक १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश

beemaadmin
२०८१ पुष १७, बुधबार

काठमाडौं । ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको पुस १८ गते अठार वर्ष पूरा भएको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ३६ खर्ब १२ अर्ब पुगेको छ भने जगेडा कोषमा २५ अर्ब २७ करोड रुपैयाँ राखेको छ।

आर्थिक वर्ष २०८०-८१ मा बैंकको कारोबार समीक्षा
तथ्याँक अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पूँजी, निक्षेप र लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरु एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पूँजी र गाभिए पश्चात कायम भएको पूँजीको भिन्नताको रकम (पूँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८–७९ सम्म हिताधिकारीलाई वितरित लाभाँश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगी, पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एक अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।

सञ्चालन नतिजा
आर्थिक वर्ष २०८०–८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ हासिल गर्न सफल भएको छ । २०८०–०८१ मा बैंकको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्ष भन्दा रु। २५ करोडले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्च तर्फ पनि रु १०८.४६ करोडले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा सङ्कुचन आएको छ । यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो । निक्षेपका दरहरुमा उल्लेखनीय रुपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्याएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रगतिः
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्बले वृद्धि भइ ५२९.३८ अर्ब पुगेको छ, भने कर्जा लगानी तर्फ पनि २७.८६ अर्बले वृद्धि भइ ४१८.६३ अर्ब पुगेको छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नु पर्ने अवस्था रहेको छ ।

भावी कार्यक्रम
आगामी दिनमा ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु संचालन गरिने बैंकले जनाएको छ । बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएको छ । भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मदत पुगि शेयरधनीहरुलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।

बैंकले आगामी दिनमा निम्नानुसारको रणनीति–कार्ययोजनाहरु अवलम्बन गर्दै जानेः

“सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रुपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरु मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरु, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवाकेन्द्र मार्फत करिव ५० लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो संख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिग सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
आगामी समयमा बैंकले दिगो व्यवसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यवसायिक कार्ययोजना अनुरुपका रणनीतिहरु कार्यान्वयन गर्दै जाने जनाएको छ । यसका लागि बैकले निक्षेप तर्फ सि आश्वा निक्षेप र कर्जा प्रवाह तर्फ एसएमइए, रिटेल, एमएसएमई, प्राथमिकता प्राप्त क्षेत्रमा दिने कर्जालाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरु सञ्चालन गर्दै जाने छ, जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरुलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्वन, वृताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्द्धन गरिने छ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति बैंकको छ ।
बैंकले थप प्रडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरुप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप । फास्ट लोन एगेन्स शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको बिकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै वचतलाई लक्षित गर्दै आइएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्व दिई आएका छौं । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरु मा समेत निरन्तरता बैंकले जनाएको छ
मुलुकभर विकासको पूर्वाधार निर्माण सम्वन्धी कार्यहरु निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीनवटै तहका सरकारहरुको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरुको आवश्यकता र सुबिधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
विप्रेषण ९रेमिट्यान्स० नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरुमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरुको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरुसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा ब्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।
बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोवारको प्रवर्द्धन गर्न अष्टेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहेको छ । आर्थिक रुपले सम्पन्न एशियाको महत्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरुबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरीका जस्ता विभिन्न संभाव्य राष्ट्रहरुमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरी डिजिटल मनि कारोवार ईजाजतको लागि समेत प्रयत्न गर्ने भएको छ ।
बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म बिश्लेषण गर्दै सम्पूर्ण बैंकिग सेवाहरु डिजिटल बैंकिङको प्रविधि मार्फत प्रदान गर्दै कारोवारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।
बैंकको आन्तरिक काम कारवाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक बर्ष २०८०र८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरु, एलसी(ग्यारेन्टी सुबिधा, शेयर कर्जा लगायतको कारोवार अनलाईनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक विपिएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोवार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरुबाट व्यवसायिक प्रभावकारीता बढाएको विश्वास सहित आगामी दिनहरुमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरु थप गर्दै लैजाने नीति बैंकको छ।
कर्मचारीहरु बैंकका मुख्य सम्पत्ति हुन र उनीहरुको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरुको वृत्ति विकासका लागि वार्षिक तालिम कार्यतालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छ।
बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध छ । सङघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङगीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरुको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिबृद्धि गरी बैंकको व्यावसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिने छ ।
मुलुकले अबलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरुको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।
कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यावसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरुको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरीङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ ।
उल्लिखित मुख्य भावी कार्यक्रमहरुको निरन्तरताबाट बैंकको व्यवसाय वृद्धि गर्ने र जोखिम व्यवस्थापनका साथै विगतमा झैँ आगामी दिनमा शेयरधनी महानुभावहरुलाई उच्च प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति गराउन बैंक क्रियाशील रहने बैंकले जनाएको छ।

धेरै बिप्रेषण भित्र्याउने बैंकको रूपमा सम्मानित
आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याउने बैंकको रुपमा यस बैक सम्मानित भएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा पुर्याएको योगदानका लागि सो प्रशंसापत्र प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सो सम्मान प्रदान गर्दै आएको छ ।

ग्राहक सम्बन्ध
बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक सङख्या करिव ५० लाख भन्दा बढी पुगेको छ। मर्जर तथा व्यवसायको निरन्तर विस्तारको कारण वृद्धि हुँदै गईरहेको बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि कायम राख्दै सम्पूर्ण ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखी बैंकको ग्राहक सेवालाई बढी प्रभावकारी बनाउँदै लैजाने नीति अबलम्वन गर्ने जनाएको छ।

कार्यालय सञ्जाल
ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिग सेवाहरु, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहेका छ। बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्टेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

औपचारिक र सहज बैंकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने अपेक्षा रहेको छ । बैंकले समग्रमा (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवाकेन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिव ११०० सेवा केन्द्र मार्फत ५० लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ७ वटै प्रदेशमा बैंकको प्रादेशिक कार्यालय स्थापना गरी सो मार्फत सम्बन्धित प्रदेशका शाखाहरुको समन्वय, निरीक्षण र सहजीकरणको कार्य हुँदै आएको छ ।

प्रविधि
आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । कोभिड १९ ले आधुनिक नेपालको डिजिटल दुनियाँमा असाधारण फड्को मारेको छ र सोको प्रत्यक्ष प्रभाव सिङगो बैंकिङ्ग क्षेत्रमा परेको छ । ग्राहकको प्रत्यक्ष उपस्थिती विना नै धेरै किसिमका सेवाहरु डिजिटलको माध्यमबाट उपलब्ध गराइरहेको र यस्तो सेवा अझ विस्तार गर्न बैंक कटिबद्ध रहेको छ ।

बैकबाट उपलब्ध सबै किसिमको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा वचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति बमोजिम समीक्षा अवधिमा बैकले प्रविधिमा आधारित र स्वचालित कस्टुमर सेन्ट्रिक विपिएम सफ्टवेयर जडान गरी सफलतापूर्वक काम भइरहेको, कर्मचारीको प्रत्यक्ष संलग्नता विना नै नगद कारोवार हुने क्यास डिपोजिट मेशिन एवम् आउटवार्ड चेक एसेप्ट गरी क्लियरिङमा पठाउने चेक डिपोजिट कियोस्क सहितको डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरुमा सञ्चालनमा ल्याइएको छ ।

समीक्षा वर्षमा बैकिङ सेवाका अत्यावश्यक उपकरणहरु, सफट्वेयर डाटा, नेटवर्क, तथ्य तथ्याङ्कहरुको साईवर सुरक्षासँग सम्बन्धित इन्डपोइन्ट सेक्युरिटि लाइसेन्स खरिद गरी कार्यान्वयनमा ल्याएको छ । बैंकको कल सेन्टर सोल्युसनलाई थप परिष्कृत गरिएको छ, हाल १८ घण्टा सञ्चालनमा रहेको यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृिद्धको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रकृया स्वचालनको प्रयोग गरिएको छ । सो वाहेक बैंकको आन्तरिक प्रकृया छिटो र प्रविधिमैत्री बनाउन विभिन्न एप्लिकेशन विकास गरी कार्यान्वयनमा ल्याईएको छ, जसबाट बैंकको आन्तरिक काम कारोबारमा निपूर्णता आई सेवाको गुणस्तर समेत अभिवृद्धि भएको छ ।

 

सूचना प्रविधि पूर्वाधारको बिकास तथा मजबुतीकरण गरी बैंकिङ सेवालाई पूर्ण डिजिटलाईजेशन बनाउँदै लैजाने उद्देश्यले सूचना प्रविधि लेखापरीक्षण गर्ने कार्यलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिई बैंकको सूचना प्रविधिलाई अझ मजबुत बनाउने नीति रहेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान
राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्था तर्फ सवैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकलाई सम्मानित गरेको छ । समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी रु। ६ अर्ब भन्दा बढीको योगदान गरेको छ । व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पूँजी सङकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत ३,८०० जना भन्दा बढी नेपाली नागरिकहरुलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।

संस्थागत सुशासन
बैंकमा संस्थागत सुशासन कायम राख्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन सदैव प्रतिबद्ध रहेको बैंकले जनाएको छ। बैंकको विस्तारित कारोबार तथा शाखा सञ्जाललाई दृष्टिगत गरी संस्थागत संरचनामा समय सापेक्ष परिवर्तन लगायत सुशासनमा पनि ध्यान केन्द्रित गर्दै आएका छ । संस्थागत सुशासनको अन्तर्राष्ट्रिय मापदण्डहरु, असल अभ्यास लगायत अन्य मार्गदर्शनहरू समेत पूर्ण पालन गर्दै आएका छ । यसका साथै,सञ्चालक समितिका सबै सदस्यहरू एवं कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्ण परिपालन गरिआएका छ । बैंकको विस्तारित व्यवसाय तथा अन्य सञ्चालन गतिविधिहरुको आधारमा आन्तरिक नियन्त्रण लगायत अन्य पक्षहरुको कार्यान्वयनलाई समय साक्षेप हुने गरी थप मजवुत बनाउनुका साथै कर्मचारीको कार्यक्षमता अझ सवल बनाउनका लागि बैंकको सङगठन तालिका तथा पदाधिकारीहरु काम र जिम्मेवारीमा आवश्यकता अनुसार हेरफेर गरिँदै आएको छ ।

बैंकको लेखापरीक्षण समितिले नियमित रुपमा सम्पूर्ण काम कारवाही अनुगमन गर्दै आएको छ र नेपाल राष्ट्र बैंकको नीति निर्देशनको परिपालन एवं बैंकको आन्तरिक कार्यप्रणाली तथा प्रक्रियाहरू पर्याप्त भए नभएको कुरालाई समेत सुनिश्चित गर्ने गरेको छ । बैंकको सम्पूर्ण काम कारवाहीहरूलाई पारदर्शी रूपमा सञ्चालन गरी मजबुत संस्थागत सुशासनको विकास गर्न बैंक सदा प्रतिवद्ध रहेको छ ।

सम्बन्धित समाचार