free website hit counter

घट्यो बीमा एजेण्टको कमिशन

beemaadmin
२०७९ फाल्गुन ११, बिहीबार

काठमाडौं । बीमा अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिशन पाउँछन् । बीमा व्यवसाय बीमा अभिकर्ताकै भरमा चलेको व्यवसाय हो । जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ । अभिकर्ता पेशा पूर्णकालीन वा पार्टटाईमको रुपमा काम गर्न सकिने र स्वतन्त्र रुपमा काम गर्न पाइने भएपछि यो पेशा अपनाउन खोज्नेहरुको आकर्षण रहेको पाइन्छ । नेपाल बीमा प्रधिकरणको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अन्तरगत अभिकर्ताका लागि अनुमतिपत्र लिनेको संख्या ५ लाखको हाराहरीमा रहेका छन् । जीवन बीमा कम्पनीहरुले अभिकर्ता (एजेण्ट) कमिशन वापतको खर्च घटाउँदै लगेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले अभिकर्ता खर्च घटाउँदै ६ अर्ब २० करोड २९ लाख रुपैयाँ मात्रै खर्च गरेका छन् ।
यो गत अर्थिक वर्षको यही अवधिको तुलनामा १८.५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुससम्ममा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ६१ करोड ८ लाख रुपैयाँ अभिकर्ता कमिशनको लागि खर्च गरेका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबै जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन वापत हुने खर्च घटाएका हुन् । अभिकर्तालाई दिने तलव र स्कीममा दिने खर्च नियन्त्रण गर्न प्राधिकरणले निर्देशन दिएपछि बीमा अभिकर्ताहरुले पाउने रकम घटेको हो । यस्तै बीमा अभिकर्ताहरूलाई प्रोत्सहान गर्न बीमा कम्पनीहरूले उपहार,स्किम भन्दै वितरण गर्ने सेवा सुबिधा बीमा प्राधिकरणाले नियन्त्रण गरेपछि अभिकर्ता खर्च घट्न पुगेको हो ।
युनियन लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशन वापत खर्च सबैभन्दा धेरै ३८.६६ प्रतिशतले घटेर २९ करोड ७९ लाख रुपैयाँमा सीमति भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६४ करोड ८८ लाख रुपैयाँ अभिकर्ताको लागि खर्च गरेको थियो । युनियन लाइफपछि गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता खर्च २७.१३ प्रतिशतले घटेर १४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । सानिमा लाइफको पनि २७.०९ प्रतिशतले घटेर १४ करोड ६१ लख रुपैयाँमा सीमित भएको छ । यस्तै प्राइम लाइफको अभिकर्ता कमिशन २३.२३ प्रतिशत, एलआईसी नेपालको २२.५९ प्रतिशत र रिलायन्स लाइफको २२.५६ प्रतिशतले घटेका छन् । बाँकी कुनै पनि कम्पनीको अभिकर्ता कमिशन खर्च २० प्रतिशत भन्दा माथि भएको छैन् । अभिकर्ता कमिशन सबै भन्दा कम घटाउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफको अभिकर्ता खर्च १.९६ प्रतिशतले घटेर ७३ करोड ९३ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७५ करोड ४१ लख रुपैयाँ खर्च गरेको थियो ।
जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले अभिकर्ता कमिशन वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल लाइफले १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ अभिकर्ता कमिशन वापत खर्च गरेको हो । यस्तै नेशनल लाइफले ७३ करोड ९३ लाख रुपैयाँ, एलआईसी नेपालले ७१ करोड १८ लाख रुपैयाँ, युनियन लाइफले ३९ करोड ७९ लाख रुपैयाँ, एशियन लाइफले ३५ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले ३४ करोड २७ लाख रुपैयाँ र सूर्यज्योति लाइफले २५ करोड ७७ लाख रुपैयाँ खर्च गरेका छन् । बीमा अभिकर्ताको लागि सबै भन्दा कम खर्च गर्नेमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थाले चालु आर्थिक वर्षको यस अवधिमा १।४७ प्रतिशत अर्थात ९ करोड १३ लाख रुपैयाँ मात्रै अभिकर्ता कमिशनको लागि खर्च गरेको छ ।

सम्बन्धित समाचार