शान्ति तिमिल्सिना शर्मा
विश्वभर देखिएको कोरोना संक्रमणको असरलाई रोकथाम गर्ने प्रयासस्वरुप संघीय एवं प्रदेश सरकारले चालेको कदमका बाबजुद प्रदेश सरकारको स्वीकृतिबाट महोत्सव सञ्चालन हुने अवसर प्राप्त भएकोमा म प्रदेश सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । महोत्सवको तिथि मिति घोषणा गरी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा संघीय र प्रदेश सरकारले भेला तथा जमघटलाई निरुत्साहित गर्न चालेको कदमले महोत्सव प्रभावित हुने अवस्थामा पुगेको थियो । तर अन्तिम घडीमा त्यो निर्णय लिँदा मेलामा सहभागी हुने हजारौं सहभागीहरुको भावनामा ठेस पुग्ने र पहिलो पटक हुन लागेको महोत्सवमा आफ्ना उत्पादनसहित सहभागीता जनाउन तयार भएका सयौं उद्यमीहरुको भावनामा चोट पुग्ने कुरालाई मध्यनजर गर्दै हाम्रो आग्रहलाई प्रदेश सरकारले स्वीकार गरेकोमा प्रदेश सरकारप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।
समितिको आयोजनामा पहिलो पटक हुन लागेको प्रदेशस्तरीय यस महोत्सवको मूल नारा ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु ः मेरै नेपालको’ भन्ने रहेको छ । फागुन २१ गतेदेखि चैत २ गतेसम्म १२ दिन प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलको सुन्दर नगरी बुटवल ११ स्थित रंगशालाको पश्चिमतर्फको खुल्ला मैदान क्षेत्रलाई छनोट हुनु आफैंमा खुशीको कुरा हो । स्थानीय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने यस महोत्सवको विशेष उद्देश्य रहेकोले देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगहरुको अलावा कृषि, वनपैदावार, हस्तकला, ऊर्जा, बायोग्याँस लगायत औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका स्थलहरु रहेका छन् ।
प्रदेश ५ का १२ वटै जिल्लाका उद्यमीहरुको अलावा अन्य जिल्लाका उद्यमीहरुको पनि यस महोत्सवमा सहभागिता हुनु आफैंमा सुखद पक्ष हो । पर्यटन र देशभित्रका घरेलु उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर आयोजना गरिएको यस महोत्सवमा करिब ३ सय स्टलहरु रहेका छन् । नेपाली स्रोत साधनको प्रयोग गरी नेपाली लगानी र नेपाली परिश्रमबाट गरिएका उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्य लिएको यस महोत्सवमा करिब २ लाख भन्दा बढी दर्शक भित्रिने अपेक्षा गरिएको छ ।
लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित साथै कृषि तथा महिला उद्यमसिलताका वस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राख्न प्रमुख ग्राह्यताका साथ महोत्सवभित्र निर्माण भएका उत्कृष्ट स्टल यस महोत्सवको प्रमुख आकर्षण हो । महिला उद्यमसिलता, लघु उद्यमी तथा हस्ताकलाका उत्पादित सामग्रीहरुलाई प्रोत्साहन गर्दै उपभोक्ताहरुको रुचि, चाहना र आवश्यकतालाई उत्पादकहरुसम्म पु¥याउने महोत्सवको लक्ष्यलाई यहाँहरु सबैको साथ रहने विश्वास लिएको छु । प्रादेशिक लघु, घरेलु, साना तथा आद्योगिक कृषि प्रविधि, व्यापार एवं पर्यटक महोत्सव राष्ट्रिय एवं स्थानीय क्षेत्रमा छरिएर रहेका लघु तथा घरेलु प्रविधिहरुबाट उत्पादित वस्तुहरु कला, संस्कृति र रितिरिवाज, रहनसहनको पक्षलाई महोत्सवले पक्कै पनि उजागर गर्ने विश्वास लिएको छु ।
प्रदेशमा मात्रै होइन मुलुकमै पहिलो पटक घरेलु तथा महिला उद्यमीहरुद्वारा आयोजित यस महोत्सवको सफलता प्रदेशको सफलतासँग पनि जोडिएको कुरामा दुईमत छैन । नेपालमा महिलाहरुलाई उद्यम गर्नका लागि सहज वातावरण अझै पनि सिर्जना भएको छैन । नेपालको संविधानले महिलालाई हरेक क्षेत्रमा अधिकार दिएको भए पनि शासक, समाज र परिवारको बन्धन अझै पनि उस्तै रहेका कारणका बाबजुद पनि यस क्षेत्रमा महिला उद्यमीहरुको सहभागिता र क्रियाशीलता अहिलेको अवस्थामा सह्रानीय नै छ । प्रदेश, स्थानीय र संघीय सरकारले आ–आफ्नो क्षेत्र र अधिकारको सीमाभित्र रहेर घरेलु तथा लघु उद्यमका क्षेत्रमा महिलाहरुलाई अग्रसर गराउने किसिमका रचनात्मक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।
अबका महिला चुलो चौकामा मात्रै होइन उद्योग धन्दामा पनि उत्तिकै सफल हुनेछन् भन्ने देखाउन पनि तीनै तहका सरकार र समाज सकारात्मक बन्नु जरुरी छ । महिला अघि नबढेसम्म मुलुक समृद्ध हुन सक्दैन । प्रदेश र संघीय सरकारको नारा समृद्धि नै रहेको कारण पनि लघु उद्यम र घरेलु उद्योगको प्रवद्र्धन र उद्यमीहरुको सहभागिताको वृद्धि नै आजको आवश्यकता हो । आज पनि लाखौं नेपाली महिला रोजगारीको खोजीमा विदेशिएका छन् । ती महिलाहरुलाई स्वदेशमै रोजगारमूलक उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्ने हो भने कोही पनि विदेशी भूमिमा जाने छैन ।
नारामा महिला मैत्री भनिए पनि व्यवहारमा पुरानै पुरुष प्रभुत्व कायम हुँदा अझै पनि महिलाहरुले आफ्नो क्षमता देखाउन पाएका छैनन् । मुलुकको आर्थिक क्षेत्रको विकासमा घरेलु तथा साना उद्योगको भूमिका ठूलो भएका कारण यस क्षेत्रको विकासका लागि सरकार र समाजको ध्यान जान आवश्यक छ । अन्त्यमा यस महोत्सव सफल बनाउनका लागि यहाँहरु सबैको भूमिका र सहभागिताको अपेक्षा गर्दै उद्घाटन शत्रमा पाल्नुभएका सबै महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
(नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं. ५ बुटवलद्वारा आयोजित कार्यक्रममा महासंघकी अध्यक्ष शान्ति तिमिल्सिनाले उद्घाटन शत्रमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)