काठमाण्डौ । नेपाल राष्ट्र बैंकले घर–जग्गा कारोबारमा अझै कडाइ गर्ने संकेत गरेको छ। काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले यस्तो संकेत दिएका हुन्। अहिलेको अर्थतन्त्रमा समस्या आउनुको पछाडि बैंक तथा वित्तीय संस्थाले घर–जाग्गाजस्ता एसेस्टमा जथाभावी लगानी गरेको परिणाम हो, उनले भने, अब बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा केन्द्रित नगरी हुँदैन। एसेस्ट प्राइस धेरै बढ्नु हुँदैन। यसले विध्वंश ल्याउन सक्छ। मानिसहरु बैंकको ब्याजदरको पछाडिमात्रै कडिरहेका तर जग्गा किनिनसक्ने अवस्थामा पुग्दा पनि कोही नबोलेको उनको गुनासो छ। ब्याजदर इस्यू ठूलो कुरा होइन, यो घट–बढ भइरहन्छ, उनले भने, घर–जग्गा महँगो भइरहेको छ, कामदारको ज्याला उत्तिकै महँगो छ, भाडा पनि महँगो भयो। श्रेष्ठले कर्जा कम प्रभाव भएकै कारण शोधानान्तर अवस्था बचतमा गएको जिकिर गर्दै भने, आयात बढ्यो भने र कर्जा फेरि बढी गयो भने फेरि पुरानै समस्या दोहोरिन्छ। डा श्रेष्ठले बैंकको पारदर्शी वासलात हेरेर यति र उति नाफा भयो भन्ने निजी क्षेत्रले आफ्नो कारोबारको तस्बिरलाई पारदर्शी ढंगले बाहिर नल्याएको गुनासो गर्दै भने, उद्योगी–व्यवसायीहरु घाटामात्र भयो भन्नुहुन्छ, उहाँहरुको वासलात पनि हेर्न मन छ।