खासगरी प्रायजसो सासू र बुहारी विच मन मिल्न नसक्दा समाजमा अधिकांस बुढाबुढी बाआमाहरुलाई छोराबुहारीले “पाल्ने” वा स्याहार-सुसार गर्ने सहज अवस्था बन्न सकेको छैन । जतिसुकै पढेलेखेका, देखेजानेका, धनी वा सम्पन्न र आधुनिक भन्नेहरुमा पनि यो समस्या विकराल बनेको देखिन्छ । किनकी, सामान्यतया सासू र बुहारी विच आमा र छोरी विच जस्तो घनिष्ट माया र प्रेम नै हुँदैन, जुन अस्वभाविक हुँदै होइन । प्रगाढ माया प्रेम नहुने बित्तिकै सानो तिनो निहुँ पनि झगडाको ठुलो कारण बन्दछ र सम्बन्ध बिग्रन्छ, अनि टूट्छ ।
बिग्रिएको सम्बन्ध जोड्ने बलियो आधार भनेको नै मूख्यतया माया हो जुन लगभग मरिसकेको हुन्छ । त्यतिबेला कसैलाई पनि कुनै अर्ती, उपदेश वा सामाजिक लाज-गालले छुँदै छुँदैन । छोराको बाआमा प्रति माया बढी नै हुने भएपनी त्यसले मात्र सामान्यतया समस्या सुल्झाउन नसक्ने हुन्छ । यस्तो परिस्थिती पनि आउन सक्छ कि – छोराले कि त बाआमा कि त श्रीमती छोड्नु पर्ने हुन्छ । तर प्राकृतिक रुपमा त्यति बेला छोराले बाआमालाई नै छोड्नु पर्ने वाध्यता आइपर्छ, जसलाई अन्यथा मान्नु पनि हुँदैन । किनकी, बाआमाको कारण छोराले आफ्नो घर बिगार्नु हुँदैन ।
अर्को तर्फ पुरुष प्रधान समाजले बाआमालाई छोरी-ज्वाइँ सँग बस्ने सहज परिस्थिती बनाइ दिएको हुँदैन । त्यसलाई स्वभाविक रुपमा स्विकार्दैन । त्यसले गर्दा बुढाबुढीहरू घरको न घाटको अवस्थामा पुग्न वाध्य हुन्छन । छोरी सँग बस्दा सबै समस्याहरु समाधान हुन्छन भन्ने पनि हुँदैन, तथापी बाआमा र छोरी विचको आत्मियता, प्रगाढ माया र ममताले सानो तिनो निहुँहरु पानीको फोका जसरी फुट्छन र सम्बन्ध सामान्य अवस्थामा फर्कन सक्ने बलियो सम्भावना हुन्छ । स्मरण रहोस – पारिवारिक सम्बन्धलाई बिगार्न वा भत्काउन सामान्यतया महिलाहरुको नै भूमिका प्रधान हुन्छ ।
यि कुराहरु प्रति सम्वेदनशील हुने र समस्याको कारण र उपायहरुलाई मसिनो गरी केलाउने हो भने बाआमाहरु छोरीज्वाँईहरु सँगै बस्नु बढी उपयुक्त हुने देखिन्छ । सबैले यसै गर्नुपर्छ भनेको चाँहीं होइन, समस्या भएकाहरुको हकमा यसलाई समाधानको विकल्पको रुपमा लिनु श्रेयस्कर हुन्छ भनेको हुँ । समस्या नै नभएको ठाउँमा समस्या जन्माउने मेरो मनाशय होइन ।
हामीले हाम्रो सामाजिक परम्परा, सोच र अवधारणाहरुमा समेत ठुलै परिवर्तन गर्नु पर्ने देखिन्छ । बाआमाहरुले उनीहरुको चाहना र आवश्यकता अनुसार छोरीज्वाँईसँग बस्ने कुरा मात्र होइन, हाम्रो विवाह पद्दतिमा समेत उदार र फराकिलो सोच राख्नु पर्ने हुन्छ । जस्तो कि – श्रीमती श्रीमानको घरमा भित्रिन हुँदा श्रीमान श्रीमतीको घरमा भित्रिन नहुने भन्ने कुनै कारण हुन्छ र ?
लामो समयदेखी जरा गाडेर बसेको पुरुष प्रधान समाजको परम्परा र चिन्तनले यो कुरा गर्न त के सोच्न समेत मानिसलाई गार्हो हुन्छ । घर-ज्वाइँ प्रतिको हेराइ र बुझाइमा नै परिवर्तन गर्न सक्नु पर्छ, अब । घर-बुहारी भन्ने शब्द र सम्बन्धलाई जसरी सजिलै स्विकार गरिन्छ ठीक त्यसरी नै घर-ज्वाइँलाई पनि सामान्य रुपमा ग्रहण गर्न सक्नुपर्छ ।
मेरो विचारमा त श्रीमान श्रीमतीको घरमा भित्रिने चलनले मैले शुरुमा उठाएको सामाजिक समस्यालाई समाधान गर्न धेरै सहयोग पुर्याउँछ । तथापि, पारिवारिक अवस्था, आवश्यकता र चाहना अनुसार श्रीमती श्रीमानको घरमा भित्रिने वा श्रीमान श्रीमतीको घरमा भित्रिने वा विहे भएको पहिलो दिन देखिनै श्रीमान र श्रीमती उनीहरुको नयाँ घर वा कोठामा भित्रिने सबै विकल्पहरुलाई सहज रुपमा लिन सक्नु पर्छ र त्यसप्रति उदार बन्न सक्नु पर्छ । समाजले के भन्ला वा ठान्ला भनेर आफ्नो जीवनलाई कसैलेपनी कष्टप्रद र अन्धकारमय बनाउन हुँदैन । आफ्नो जीवन कसरी जीउने भन्ने बारे निर्णय आँफैले गर्न सक्नुपर्छ । समाज त्यसको लागि अबरोधक होइन सहयोगी बन्नु पर्छ ।