डडेल्धुरा । असार १ गते परशुराम ८ जमरानीमा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम थियो। चाहिएको भन्दा खोपको संख्या बढी भएपछि असार २ गते जमरानी आधारभूत स्वास्थ्य केन्द्र ईन्चाज रमेश बोहराले कर्मचारी अस्मिता धामीलाई बाँकी खोप जोगबुडा अस्पताल पुर्याउन लगाए। तर, अस्तिमा जोगबुडा पुग्न पाइनन्। २६ वर्षीया अस्मिता सम्पर्कविहीन भएको ४ दिनपछि शनिबार मृत अवस्थामा भेटिइन्। उनको शव परशुराम नगरपालिका–९ को सामुदायिक वनमा भेटिएको थियो। उनको हत्या भएको आशंका गरिएको छ। उनको टाउको र मुखमा चोट लागेको जस्तो देखिएको छ। घटनास्थलमा प्रहरीले खोप बोक्ने समग्री र उनको चपल पनि फेला पारेको छ। उनको बलात्कारपछि हत्या गरिएको स्थानीयले आशंका गरेपनि प्रारम्भिक अनुसन्धानले उनको बलात्कार भएको नदेखिएको घटनास्थल पुगेका एक प्रहरीले बताए। तर, उनले प्रयोग गर्ने मोबाइल भने भेटिएको छैन। मोबाइल नभेटिनुबाहेक घटनाको प्रकृति हेर्दा हत्या नभई आत्महत्या हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्। तर, पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरी बताउँछ। मृतकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल डडेल्धुरामा नै राखिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल जोगबुडा पुगेका छन्। दुई छोरीकी आमा अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन्। सँधै दोस्रो दिन घर पुग्ने अस्मिता कार्यालयबाट दोस्रो दिनसम्म पनि घर नपुगेपछि घरपरिवारले उनको खोजी गरेका थिए। सुरूमा कार्यालयमा फोन गरेका उनीहरूले अघिल्लो दिन नै जोगबुडा अस्पताल गएको र दोस्रो दिन कार्यालय नआएको जवाफ पाए। त्यसपछि जोगबुडा अस्पताल र आफन्तहरूकोमा खोजी भयो। तेस्रो दिन गाँउबाट टोली निर्माण गरि खोजी सुरु गरिएको र बाटोमा कहीँकतै नदेखेपछि चौथो दिन प्रहरीलाई समेत खोजीका लागि अनुरोध गरेका थिए। सीमाचौकी तातापानी र जोगबुडा ईलाका प्रहरी कार्यालयको टोली समेत परिचालन भएर खोजी गर्दा अस्तिताको शव शनिबार हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो।