free website hit counter

चिसो र मुटुराेगकाे जोखिम (विज्ञहरुको सुझाव)

beemaadmin
२०७६ पुष १९, शनिबार

जाडो महिनामा हाम्रो मुटु अन्य समयभन्दा बढी सक्रिय हुन्छ । जाडोको कारण मुटुले रेष्ट गर्ने समयमा पनि काम गर्नुपर्ने हुन्छ । अलि बढी ब्यायाम गरियो भने जोखिम देखा पर्न सक्छ । हृदयघातका बिरामी, मुटुमा ब्लकेज भएर उपचार नगरेको, मुटुको भल्व, मुटुको चाल अर्थात मुटु सम्बन्धी बिरामी भनेर थाहा भइसकेका बिरामीहरुले विशेष सावधानी लिन जरुरी हुन्छ । किनभने जाडोले मुटुलाई विशेष जोखिममा राखेको हुन्छ ।

चिसोमा अल्कोहलको सेवनले हृदयघातको खतरा बढाउन सक्छ । किनभने यसले बाहिर गर्मी महसुस गराउँछ तर भित्री अंगहरुमा चिसो हुन्छ । जसले हृदयघातको खतरा बढ्छ । चिसो मौसममा हृदयघातको सम्भावना बढी हुने तथ्यांकहरुले देखाएको छ । मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन् । यसको असर मुटुमा रगतको आपूर्ती गर्ने धमनीहरुमा पनि पर्छ । त्यसैले मुटुरोगीहरुलाई हृदयघातको खतरा बढ्ने गरेको हो । अध्ययनअनुसार बिहानको समयमा शरीरका रक्तनलीहरु संकुचित हुन्छन् । यस क्रममा हावामा पाइने धुवाँ र यसको खराब गुणले हृदयघातको जोखिम दुई गुणा हुन सक्छ । चिकित्सकहरुका अनुसार चिसोमा हावाको गति कम हुन्छ र आद्रताको स्तरमा वृद्धि हुन्छ । जसले गर्दा हावामा प्रदुषण बढ्न थाल्छ, किनभने प्रदुषित तत्व हावामा तलै रहन्छ, यताउता फैलन पाउँदैन । यहि प्रदुषित वायुमा भएका हानीकारक कणहरु सासको माध्यमले मुटुसम्म पुगेर मानिसलाई नोक्सान पुर्याउँछ ।

चिसो मौसममा शरीरमा भिटामिन डीको कमी, कोलस्ट्रोल स्तर बढ्ने, रगतको आपूर्ति, रक्तसञ्चारमा गडबडी, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिम उच्च बनाउँछ । हृदयघातबाट बच्नको लागि हामीले यसको संकेततर्फ ध्यान दिनुपर्छ । छाती पोल्ने, बेचैनी हुने, लगातार रक्तचाप उच्च रहने, हात दुखेर छातीसम्म पुग्ने आदि यसका लक्षण हुन् । जुन अनुपातमा तपाईं पानी पिइरहनुहुन्छ, त्यसको तुलनामा पिसाब आएको छ कि छैन त्यो पनि विचार गर्नुहोस् । धेरै पानी पिउँदा पनि पिसाब कम आएको छ भने यसको मतलब फोक्सोमा अतिरिक्त पानी जम्मा भइरहेको हुन्छ । यस्तो अवस्थामा ढिलो नगरी तुरुन्त डाक्टरसँग जाँच गराउनुहोस् ।

चिसो मौसममा हृदयघातबाट आफूलाई बचाउनको लागि आफूलाई न्यानो बनाएर शरीरमा गर्मी पैदा होस् । तातोका लागि टाउकोमा टोपी, हातमा पन्जा र खुट्टामा मोजा लगाउनुहोस् । बिहान–बिहान घरबाट बाहिर निस्कन बन्द गर्नुहोस् । जाडो मौसममा मर्निङ वाक हानिकरक हुन्छ । चिसो र प्रदुषित हावा सासको माध्यमले शरीरमा जाने खतरा हुन्छ । घाम लागिसकेपछि वा दिउसोको समयमा घरबाट बाहिर निस्कनुहोस् । यो मौसममा वृद्धवृद्धा र बच्चाहरु बिहानै चिसोमा पैदल हिँड्नबाट बँच्नुपर्छ । चिसोमा बिहानै घरबाहिर गएर व्यायाम गर्नु वा मर्निङवाक गर्नुुभन्दा घरमै एक्सरसाइज गर्नुहोस् । घरमै बसीबसी तपाईं योगा, मेडिटेसन र वर्कआउट गर्न सक्नुहुन्छ ।

____________________________________

यसकारण बढ्दैछन् हृदयघातका विरामी

डा. चन्द्रमणि अधिकारी, निर्देशक गंगालाल अस्पताल

– निश्क्रिय जीवनशैली अपनाउनु ।
– शरीरमा कोलेस्टेरोलको मात्रा बढि हुनु ।
– उच्च रक्तचाप
– सुर्तिजन्य पदार्थ तथा धुम्रपान र अत्याधिक मदिरा सेवन
– मोटोपना
– वंशाणुगत गुण
– मानसिक तनाव
– अस्वस्थ्यकर खाना

हृदयघात हुन नदिने उपाय
– छाती दुख्ने समस्या छ भने समयमै अस्पतामा स्वास्थ्य परीक्षण गराउने ।
– उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने ।
– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने ।
– आफुलाई तनावमा नराख्ने ।
– समय समयमा मुटु परीक्षण गराउने ।

____________________________________

घाम झुल्केपछि मात्रै हिँडौं

डा. प्रकाश बुढाथोकी, मुटुराेग विशेषज्ञ

चिसोमा शारीरिक गतिविधि न्यून, खानपिन बढी, तौल बढ्नेलगायतले रक्तचाप र मधुमेहजस्ता रोगको जोखिम बढ्छ । मुटुरोगी, रक्तचाप नियन्त्रण नभएकाहरू, बूढापाका, मिर्गौला, मधुमेह, दमलगायतका दीर्घरोगी घाम उदाएका बेला अर्थात् बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म एक दुई घन्टा हिँड्न जरुरी हुन्छ । धुवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल र सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न समस्या र जटिलताबाट बच्न सकिन्छ । चिसोमा धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउनुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल,ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नु हुँदैन । सुत्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ ।
हिटर वा अन्य कुरा बाल्दा त्यसको नजिकै पानी राख्ने र बच्चाबच्चीको पहुँचभन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, हिटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा, न्यानो पार्दा झ्यालढोका खुला राख्नुपर्छ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुलै राख्नुपर्छ । विशेषगरी मनतातो पानी, सुप, झोल पदार्थ पिउने, बिहानै बाहिर ननिस्की हुस्सु र चिसोबाट बच्ने, घरबाहिर घाम लागेपछि मात्र निस्कने, मोटरसाइकलमा नहिँड्ने, उच्च रक्तचापजस्ता दीर्घरोगको औषधि नियमित खाने तथा चिसोजन्य खाद्यपदार्थ र वातावरणबाट बच्ने गर्नुपर्छ । नयाँ संक्रमण हुने र पुरानो रोगमा जटिलता थपिने जोखिम चिसो मौसममा बढी हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण, खानपान, औषधिका विषयमा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।

____________________________________

मुटुरोगीले यी कुरामा ध्यान दिनुस्

डा. ओममूर्ति अनिल, वरिष्ठ मुटुरोग विशेषज्ञ

– संसारभरीनै अहिलेसम्मको अनुसन्धानले के भन्छ भने गर्मीको तुलनामा जाडोको समयमा मृत्यू हुनेको संख्या धेरै रहेको छ । जसमध्ये मुुटु र रक्तनलीसम्बन्धी रोगीहरुको संख्या धेरैनै हुन्छ । यस्तै दमको रोगीहरु पनि बढ्ने गर्छन् । किन मुटुरोगीको धेरै मृत्यू हुन्छ भन्ने एकिन कारण नभए पनि जाडोकोे समयमा तापक्रम कम भएको कारणले शरीरमा धेरै नकारात्मक परिवर्तनहरु भइरहेको हुन्छ ।
– जाडोको समयमा व्यायाम पनि कम हुन्छ । अल्छिपनाको कारणले गरिरहेको एक्सरसाइज छाडिन्छ र तेस्रो कुरा प्रदूषण पनि बढ्छ । यस्तो प्रदूषणले चिसो महिनामा मुटु र रक्तनलीमा नकरात्मक असर गर्छ ।
– संक्रमण पनि चिसोको समयमानै धेरै हुन्छ । विशेष गरेर फोक्सोको संक्रमण बढ्ने र त्यो संक्रमणले मुटुको समस्या हुने हुन्छ । दम र हृदयघातको कारणले पनि मृत्यू हुनेको संख्या धेरै रहेको छ ।
– खानपिन पनि जाडो र गर्मीमा फरकनै हुन्छ । जसको कारण केही जोखिमहरु हामीले जान–अन्जानमा लिइरहेका छौँ ।
जाडोको समयमा तापक्रम घट्यो भने यसले शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष असर गर्छ । प्रत्यक्ष असर रक्तिनलीहरु जाडोकोे कारणले खुम्चिन्छ । गर्मीमा रक्तनली फराकिलो हुने र जाडोमा खुम्चिने हुन्छ । खुम्चीदा मुटुलाई लोड बढ्छ जसले गर्दा मुटुको धड्कन बढ्छ र रक्तचाप बढ्छ । अर्काे कुरा जाडोको कारणले शरीरमा विभिन्न किसिमका हर्माेनहरु उत्पन्न हुन्छ । मुटुभित्र मुटु बाहिरको रक्तसंचार डिसाइड गर्ने महत्वपूर्ण हार्माेनहरु पनि बनेका हुन्छ । यस्तै क्लटिङटेन्डेन्सी पनि जाडो महिनामा बढ्छ । क्लटिङको स्तरनै जाडो महिनामा धेरै हुन्छ । क्लटिङ बढ्नु भनेको जाडोमा हृदयघात, ब्रेन स्ट्रोक, डिबिटी हुने खतरा बढ्नु हो ।
यस्तै जाडोको समयमा रगतको घनत्व पनि बढ्छ । जसले गर्दा सामान्य तरिकाले हुनुपर्ने रक्तसंचारमा पनि परिवर्तन आउँछ । यसको प्रमुख कारण हर्मोनमा आउने परिवर्तन हरु नै हुन् ।

सामाजिक सञ्जालहरूबाट

 

सम्बन्धित समाचार