free website hit counter

चेतनाको कमीले विस्तार हुन नसकेको व्यवसाय

beemaadmin
२०७६ कार्तिक ११, सोमबार

गणेश गौतम

आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा बीमालाई लिइन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । आर्थिक नोक्सान हुँदा क्षतिपूर्ति ग्यारेन्टी बीमाले गर्दछ । बीमा गर्दा बिमित र बिमकबीच भएको सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिने गर्छ । बीमाले भविष्यमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्ने तथा जोखिम हस्तान्तरण गर्न सहयोग गर्दछ । धेरै उपयोगी भएर पनि प्रचार प्रसार र चेतनाको कमीले गर्दा बीमा गर्ने बानी धेरैमा छैन । मुस्किलले नेपालमा १९ प्रतिशत मानिसले मात्रै जीवन बीमा गरेका छन् । सम्पत्ति बीमामा पनि बाध्यात्मक अवस्थामा बाहेक खासै आकर्षण देखिएको छैन । मानिसले जीवनभरको कमाईबाट बनाएको एक डेढ करोड पर्ने घरको जोखिम प्रतिवर्ष ४­/५ हजार बुझाउँदा बीमा कम्पनीले बहन गर्छ । तर पनि सम्पत्ति बीमामा आकर्षण बढ्न सकेको छैन ।

सुरुमा भारतीय बीमा कम्पनीहरुले खुला रुपमा कार्यालय खोली बीमा अभिकर्ता मार्फत नेपालमा बीमा व्यवसाय चलाएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरिसकेका थिए । बैंकिङ कारोबारको बृद्धिसँगै नेपालमा बीमाको महत्व र आवश्यकता बढेको हो । नेपाल बैंक लिमिटेडले २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ।

बीमा गर्नु भनेको कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्नु हो । यसैले बीमा गर्दा बिमितलाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्दा भविस्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविस्यका लागि सहयोग पु¥याउँछ । आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था समेत छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिने हुँदा सानोतिनो गर्जो टार्न बित्तीय सस्थाहरुको ढोका चाहार्नै पर्दैन ।

बीमा गर्दा बीमा गर्ने व्यक्ति लाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनि डुवेकै अवस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमामा कम्पनीको पनि बीमा गरिएको हुन्छ । पछिल्लो समय नेपालमा बीमा व्यवसायको संख्या केही बढे पनि बजार विस्तार सन्तोषजनक हुन सकेको छैन । दक्ष जनशक्तिको अभाव अझै बीमा व्यवसायले झेलिरहेको छ । बीमा कम्पनीलाई सहरमुखी नभई गाउँमुखी बनाउनुपर्ने आवस्यकता देखिए पनि शहरको तुलनामा गाउँ गाउँमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । बीमामा पछिल्लो समय सचेतनाको अभाव नै सबै भन्दा ठूलो समस्या र चुनौती देखिएको छ । सचेतना अभिवृद्धि गरी आम नेपालीलाई बीमाको पहुँचभित्र पार्न सरकारले अहिलेसम्म कदम नचालेका कारण झण्डै ८० प्रतिशत नेपाली बीमाको पहुँचभन्दा बाहिर छन् ।

कुनै पनि व्यक्तिले बीमा गर्नुपूर्व बीमाका बारेमा पूर्ण रुपमा जानकारी लिनुपर्ने हुन्छ । व्यक्तिले आफ्नो नीजि सम्पति होस् वा जीवन बीमा र अन्य साधनहरुको बीमा गराउँदा पहिले यसका बारेमा जानकारी लिन जरुरी हुन्छ । सरकारले कृषि विमामा ७५ प्रतिशत छुटेको व्यवस्था गरेको छ । किसानहरु यस बिषयमा अनविज्ञ छन् । सरकारले कृषकलाई बीमाका वारेमा सचेतना जगाउन नसकेको कारण आकर्षण नदेखिएको हो ।

बीमा क्षेत्रमा यस्ता छन् समस्या
बीमा व्यवसायका जनचेतनाको कमी सबैभन्दा ठूलो समस्या हो । यसमा बीमा कम्पनीहरू समेत जिम्मेवार छन् । यसैगरी भौगोलिक विकटताले पनि बीमा व्यवसाय फस्टाउन नसकेको हो । सबै बीमा कम्पनीहरु शहरमुखी हुनु अर्को चुनौती हो । दूरदराजका जनताले अझै बीमाका बारेमा सुनेका पनि छैनन् । दक्ष र अनुभवी जनशक्तिको अभाव अर्को ठूलो समस्या हो । जसका कारण बीमा व्यवसायलाई प्रभावकारी ढंगबाट अघि बढाउन सकिएको छैन । बीमा क्षेत्रमा कार्यरत जनशक्तिका लागि तालिमको पनि उस्तै अभाव छ । तालिम अभावका कारण यस क्षेत्रका जनशक्ति दक्ष हुन सकेका छैनन् । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा क्षेत्र विस्तार गर्नुपर्ने देखिएको छ । बीमा दाबीका लागि सर्वेयरको कमी अर्को समस्या हो । एउटै सर्वेयरमा धेरै कम्पनी भर पर्नु पर्ने भएका कारण पनि बीमा दाबी भुक्तानीमा समस्या देखिएको छ ।
(लेखक इलेक्ट्रिकल तथा कम्प्युटर इञ्जिनियर हुनुहुन्छ)

सम्बन्धित समाचार