free website hit counter

जिन्दगीभर हवाइजहाज चढ्न नपाएको झोँकमा…

beemaadmin
२०७७ फाल्गुन ८, शनिबार

काठमाडौं। जीवनमा गर्न चाहेको सबै काम पूरा हुन सक्दैन । समय परिस्थितिले मानिसलाई कहाँ पुर्याइदिन्छ । एक व्यक्तिलाई हवाइजहाजमा चढ्ने यस्तो रहर लाग्यो कि उनले आफ्नो घरको छतमै हवाइजहाज बनाइदिए । यी व्यक्ति अहिलेसम्म हवाइजहाज चढ्न पाएका छैनन् तर हवाइजहाजमा चढ्ने उनको ठूलो रहर छ ।

भारतको झारखण्ड राज्यको राजधानी राँचीबाट ३० किलोमिटर टाढा अनगडा प्रखण्डको महेशपुर गाउँका जाकिर खानले आफ्नो घरको छतमा हवाइजहाजको मोडल बनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । अब यो गाउँलाई पनि हवाइजहाज नगर नामले चिन्न थालिएको छ । जाकिर खानले यो जहाजको नाम इण्डिगो राखेका छन् । यो डिजाइन जाकिरले स्वयं गरेका हुन् ।

गाउँका कारिगढबाट उनले यो मोडल बनाएका हुन् । यसलाई बनाउन ३ महिना समय लाग्यो र यसको कूल लागत १० लाख रुपैयाँ परेको उनले बताएका छन् । यो मोडलले गाउँलाई नयाँ पहिचान दिने पनि उनले बताए ।

यो हवाइ जहाज बनाउने काम अझै पूरा भइसकेको छैन । अहिले पनि यसको केही काम बाँकी भएको र त्यो काम चलिरहेको जाकिरले बताए । जहाजभित्र ककपिट र यात्री सिट तयार गरिँदैछ । विमानलाई वास्तविक आकार दिने पूरा कोसिस भइरहेको छ । टायर, पंखा वास्तविक जस्तै लाग्नेगरी बनाइएका छन् ।

सम्बन्धित समाचार