काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाएको छ । अदालतले लामिछानेलाई थुनामा पठाउन र पूर्व डिआईजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको हो । विहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको मुद्धाको बहस आज सकिएको थियो । बहस सकिएलगत्तै अदालतले आजै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालत विचाराधीन थियो । जिल्ला अदालत बुटवलले सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध १ करोड रुपैयाँ धरौटी मागेको थियो । सो धरौटी रकम धेरै भएको भन्दै लामिछाने उच्च अदालत पुगेका थिए । जिल्ला अदालतको आदेश चित्त नबुझाउँदै उच्च पुगेका रविलाई थुनामा पठाइएको हो । यससँगै, जिल्लाको आदेश भने बदर भएको छ ।
रवि लामिछाने पक्राउ
सभापति रवि लामिछाने पक्राउ परेका छन् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरिएको छ। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
सोमबार अदालतमा उपस्थित गराइने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपुर्याइएको हो । अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । शुक्रबार उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।