free website hit counter

जीवनमा कहिल्यै नबिर्सिने क्षणः जीवन बीमा लिने प्रक्रियामै हुँदा बिमितको मृत्यु

beemaadmin
२०७८ कार्तिक १, सोमबार
  • वैजनाथ चाैधरी

एक दिन बिहान ८-९ बजे, सदाझैं अफिस जाने क्रममा मेरो मोबाइलको घन्टी बज्यो । गोजीबाट मोबाइल निकालेर रिसिभ गर्ने क्रममै फोन काटियो । मैले पुनः त्यस नम्बरमा कलब्याक गर्दा फोन व्यस्त भइ राख्यो । त्यसपछि म पनि मेरो गन्तव्य तिर लागे । दिउँसो फुर्दद भए पछि फेरी त्यस नम्बरमा फोन गर्दा एक जना संगिता शर्मा नाम गरेकी महिलाले उठाइन् । उक्त महिलाको स्वर सुन्दा निकै दुःखी तथा चिन्तित लाग्यो । उनको घरमा मेरो भिजिटिङ्ग कार्ड भएकोले उनले फोन गरेको बताइन् ।

दुइ वर्ष अगाडि उनको श्रीमान् सुमन शर्मासँग मेरो भेट मेरो एक जना बिमितको पसलमा जिवन बीमाको नविकरण शुल्कको रकम लिने क्रममा भएको थियो । उक्त भेटमा नै उहाँले पनि जिवन बीमा पालिसी लिन इच्छुक हुनुभएको थियो । त्यसको २-३ दिन पछि, उहाँले रु २५ लाखको १५ वर्ष अवधिका लागि सावधिक जिवन बीमा पालिसी गर्न तयार हुनुभयो । प्रस्ताव फारम पनि भरियो र त्यसमा चाहिने पीपी साइजको फोटो पनि टाँसें । जिवन बीमाका लागि आवश्यक पर्ने सबै कागजातको सक्कल प्रति मात्र भएकोले मैले मोबाइलबाट स्क्यान गरेँ । उक्त सावधिक जिवन बीमाको अर्ध वार्षिक बिमा शुल्क रु ८४९४०/- को चेक ४ दिन पछिको मितिको दिनुभयो । त्यस दिन चिया खाएर हामी छुट्टियौं ।

चौथो दिनसम्म स्क्यान कपि प्रिन्ट गरि आवश्यक पर्ने सबै कागजात तयार गरि सकेको थिएँ । त्यस दिन बिहान करिब ८ बजे शर्माजीले चेक दिइएको बैंक खातामा पैसा अपुग भएकोले चेक तथा फारम जम्मा नगर्न आग्रह गर्नुभयो । त्यसपछि उहाँले जहिले पनि कुनै न कुनै समस्या भन्दै आलटाल गर्दै जानुभयो । तैपनि, म शर्मासँग निरन्तर सम्पर्क थिएँ । सुमन शर्मा कि श्रीमती संगिताले रुँदै सुमनको कोभिड-१९ को कारणले १० दिनको अस्पताल बसाइपछि उहाँको मृत्यु भएसकेको भनेर सुनाइन् । सुमनले जिवन बीमा गरेको थियो कि भनेर सोध्नलाई फोन गरेको बताइन् ।

सुमनको जिवन बीमाको लागि सबै प्रक्रिया पुरा भएको तथा प्रथम बीमा शुल्क जम्मा नभएको कारणले जिवन बीमा भइनसकेको भनेर उनलाई मैंले जवाफ फर्काएँ । “जिवन बीमाको लागि ठिक पारेको पैसा श्रीमान् को एक जना साथीले मासिक सैकडा तीनले व्याज तिर्ने सर्तमा रु १ लाख लगेको र आजसम्म फिर्ता गरेको छैन । मलाई पैसाको ठूलो समस्या भयो, ऋणको किस्ता कसरी तिर्नु ? कसरी सबै खर्च जटाउनु ? नानी बाबुलाई कसरी हुर्काउनु ? म के गरुँ हजुर ? कसरी ….” उनको वाक्य पूरा नहुँदै फोन काटियो । सुमनको परिवारमा श्रीमती संगिता, बुवा-आमा, छ वर्ष र तीन वर्षकी दुइजना छोरी र ४ महिनाको एक जना छोरा सहितको सात जनाको परिवार थियो ।

परिवारको सम्पूर्ण जिम्मेवारी सुमनकै काँधमा थियो । नानीहरुको पढाइ खर्च, बुबाको औषधि खर्च, घर बनाउँदा बैंकसँग लिइएको ४० लाख ऋणको मासिक किस्ता तथा घर खर्च समेत सुमनले राम्रैसँग आफ्नो व्यवसायबाटै धान्दै आइरहेको थियो । सुमन पेशाले सिकर्मी थियो । त्यसैले उसले आफ्नो घर पछाडि फर्निचरको सानो कारखाना पनि बनाएका थिए । त्यही कारखानामा ५-६ जना मजदुरलाई रोजगारी समेत दिएको थियो । अब सुमन यो धर्तीमा नभएको अवस्थामा कारखाना पनि बन्द हुने निश्चित नै छ । यदि सुमन तथा उनका परिवारले जिवन बीमालाई महत्व दिइ समयमै जिवन बीमा गरेको भए सायद परिवारले यस्तो दिन देख्नु पर्दैन थियो ।

सम्बन्धित समाचार