नुरराज कँडेल
जीवनबीमा लामो अवधिको करार भएको हुँदा व्यक्तिको आर्थिक अवस्था सधैं एकैनासको हुँदैन र पारिवारिक समस्या र आर्थिक गर्जो टार्नलाई बीमितले बीमालेख समर्पण (सरेन्डर) वा बीमालेख रद्द गरेर आफ्नो पैसा नियमसंगत रुपमा फिर्ता लिन्छन् । यसरी लिइने भुक्तानी आफूले बुझाएको शुल्क भन्दा कम आउँछ । यदि ३/४ वर्षमानै बीमालेख रद्द गरियो भने । त्यसको ब्याज त पूरै घाटा नै हुन्छ । त्यसमा घोषित बोनस जोडेर हिसाव गरिएको हुन्छ तर विविध कारणले गर्दा भुक्तानी कमै पाइन्छ । तै पनि बीमालेख रद्द गर्ने प्रक्रिया यथावत छ । यहाँ नियोजित रुपमा नै बढी सरेन्डर गरिन्छ भने आवश्यताले कम गरिन्छ । यसरी समर्पणको दर बढ्दै जाँदा नियामक निकाय बीमा समितिले निर्देशिका २०७८ जारी गरी बीमालेख समर्पणको अवधि २ वर्षबाट बढाएर ३ वर्ष अवधि पूरा भएको हुनुपर्ने गरी २०७८ असार २४ बाट लागू गरेको थियो भने हाल आएर पाँच वर्षसम्म समर्पण गर्न नपाउने नीति ल्याउने प्रयास गर्दैछ जबकि यसले बीमा बजार खुम्च्याएर बीमालेख सरेन्डर गर्न नसक्ने र नियमित पनि गर्न नसकि चुक्त बीमालेखमा धेरै बीमालेख परिणत हुने निश्चित छ । जसले गर्दा बीमा अभिकर्ता र बीमितले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।
सरेन्डर बढाउने कारक तत्वहरु
गत आर्थिक वर्षको बीमालेख समर्पण
आ.व. २०७८/७९ मा १२ अर्बभन्दा माथिको बीमाङ्क रकमको बीमालेख समर्पण गरेको पाइन्छ । समग्रमा यो औसत ९ प्रतिशत सरेन्डर रेसियो हो । जबकि त्यही अवधिमा प्रथम रिन्युअल बीमाशुल्क एक खर्ब ३८ अर्ब भन्दा बढी बीमकहरुले आर्जनगरेका थिए । यस अवधिमा अधिकतम १६ प्रतिशतसम्म कुनै बीमकको बीमालेख समर्पण भएको छ । यसका विविध कारणहरु छन् ।
एकल बीमाशुल्क भुक्तानी बीमालेख
पछिल्लो चरणमा ल्याइएको यो बीमालेख निकै विश्वसनिय, भरपर्दो र व्यवसाियक रुपमा उत्कृष्ट बीमालेख हो । यस बीमा अवधिको पूरै बीमाशुल्क एकै पटक तिरेर बीमालेख जारी गरिन्छ । जसे गर्दा जोखिम निर्धारण गर्न सजिलो भई बढी बीमा शुल्क आर्जन हुन्छ र बीमकहरु प्रतिस्पर्धामा जान सक्छन् । बीमितलाई पनि बीमा शुल्क तिरिरहने झन्झट हुँदैन ।
यस बीमालेखका विकृति
व्यवसायिक व्यक्तिहरुलाई यो बीमालेख राम्रो हुँदाहुँदै धेरै विकृतिहरु भित्रिए । जसमा स्रोत नखुलेको रुपैयाँलाई स्रोत खुलाउन बीमा गरी बीमालेख समर्पण गर्न थालियो । यतिसम्मकी जीवनबीमा शुल्क एक लाख भन्दा बढी तिर्न पर्दा चेकबाट भुक्तानी गर्न पर्दछ भने बीमितहरु चेक नदिने, नगद नै भुक्तानी गर्ने र करोडाैंको बीमा गर्ने गरेको भेटियो । कुनै बीमकले त्यो पनि स्वीकार गर्छन् र त्यो बीमालेख निकट भविष्यमा नै समर्पण हुन्छ जसले गर्दा बीमितको उक्त सम्पत्ति कानुन योग्य भयो । यस्तो बीमालेख समर्पण गर्दा तीन वर्षपछि बीमाङ्कको ८० प्रतिशत, मुनाफा ४ वर्षमा ८५ प्रतिशत र ५ वर्षमा बर्षमा ९० प्रतिशत बोनस दिइन्छ । यसले के प्रमाणित गर्दछ भने गलत प्रकारका बीमिलते बीमा गरेको तीनवर्षमात्रै पुरा बीमाङ्क रकम बराबर ऋण पाउँदछ । यता हेर्दा बीमामा ऋण, अर्कोतिर आफ्नो रकम कानुनसम्बत हुने भयो र उप्रान्त फेरि अर्को बीमालेख जारी गरी लुप होलको फाइदा लिँदा समर्पणको दर बढ्दै गयो ।
वि.सं. २०७४ पछि थपिएका बीमकहरु
नेपालको जीवन बीमामा साठीदेखि सत्तरीको दशकमा एक लाख पचास हजार भन्दा बढीको जीवनबीमा गर्दा पूरा मेडिकल रिपोर्ट बीमकलाई पेश गर्नु पर्दथ्यो र उक्त रिपोर्ट बीमकले छानेको डाक्टरबाट मात्र स्वीकृत गरिन्थ्यो भने हाल आएर ४५ वर्षसम्मको व्यक्तिलाई २०–२५लाखसम्मको जीवनबीमा बीमा स्वास्थ्य परीक्षण सहर्ष स्वीकार गर्दछन् यो अस्वस्थ प्रतिस्पर्धाको कारक हो । जबकि कसको स्वास्थ्य स्थिति के छ भन्ने जान्न बीमकलाई जरुरी हुन्छ । व्यवसाय विस्तार र व्यवस्थापनलाई खुशी पार्नलाई यो प्रतिस्पर्धा कायम छ ।
बीमकहरुको आफ्नै समस्या
प्रतिस्पर्धात्मक रुपमा विस्तार भइरहेको जीवन बीमा व्इवसायमा नयाँ बीमकलाई व्यापार गर्न कठिन भई विभिन्न जीवनबीमा योजना बजारमा ल्याए । जसमा प्रथम बीमा शुल्कलाई मात्र टार्गेट गरे । जसमा करोडभन्दा कमको बीमालेख बिक्री गर्न हतोत्साहित गर्दै बढी व्यापार गर्ने अभिकर्तालाई प्रोत्साहन गर्दैगए । यो ठूलो समस्या हो । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव होला त्यसैले जो कार्यकारी हुन्छ उसले व्यापार सञ्चालक वा लगानीकर्तालाई देखाउनै पर्दछ ।
अभिकर्ता चयन
बीमकहरुले अभिकर्ताको लागि अनलाइन फर्म भराउँछन् । एक घण्टाको तालिममा बीमा अभिकर्ताको इज्जाजत बीमकले दिन्छन् यो गलत प्रक्रिया हो । जबकि कम्तिमा ७ दिन वा २१ घण्टाको तालिम दिई सक्षम बनाएर मात्र बजारमा पठाउनु पर्दछ । बीमकको बीमा पोलिसी बारेको सबै ज्ञान अभिकर्तालाई जानकारी हुनु पर्दछ ।
अभिकर्ताको चलाखी
जीवन बीमामा प्रतिस्पर्धाको कारणले कर्मचारी परिवर्तन भइरहन्छन् र पुराना बीमा कमपनीको अभिकर्ता नियुक्ति गर्ने होडबाजी नै हुन्छ । अझ कम्पनीको विशिष्ट कर्मचारी अर्को कम्पनीमा नियुक्ति हुँदा आफ्ना पहुँचका अभिकर्तासँगै लैजाने प्रक्रिया कायमै छ । यसको विकृति के हुन सक्छ भने एउटा कम्पनीको अभिकर्ता अर्को कम्पनीमा जाँदा पहिलेको बीमकको पोलिसी समर्पण गर्न लगाएर नयाँ कम्पनीमा नयाँ पोलिसी जारी गर्न लगाउँछन् । जुन त्रिपक्षीय रुपमा घातक देखिन्छ । अभिकर्ताले बीमक परिवर्तन नगरे पनि सोही कम्पनीका नयाँ बीमालेख जारी भएमा पुराना बीमालेख समर्पण गर्न लगाई नयाँ बीमालेख खरिद गराउँछन् जसले गर्दा समर्पणको दर उच्च हुँदै जान्छ ।
हैसित भन्दा बढी रकमको बीमा
ग्राहकको पारिवारिक र आर्थिक हैसियत अनुसारको बीमाङ्क रकम प्रस्ताव गर्नु अभिकर्ताको कर्तव्य हो । किनकि व्यवसायमा ग्राहको ख्याल (कस्टुमर केयर) प्राथमिकतामा पर्नु पर्दछ । बीमाशुल्क नियमित हुन्छ कि हुँदैन र ग्राहको इच्छा के छ गहिरो रुपमा अध्ययन गर्नु पर्दछ । ग्राहक भेट्नासाथ सबैलाई १/२ करोडको बीमा प्रस्ताव गर्नु हुँदैन । यो पेशा भनेको पहिला साुमदयामा प्रवेश गर्ने हो जसमा २, ५, १० लाखको बीमा गरेर अन्य परिवारिक सदस्य र ग्राहकको तथा इष्टमित्रलाई पनि बीमाको दायरामा ल्याउनु हो । यो महत्वपूर्ण छ कि ग्राहकलाई सैसियतभन्दा बढीको बीमा गराउँद्या बीमा शुल्क नियमित हुँदैन र ऊ बीमाको सेवा सुविधाबाट बन्चित हुन्छ । र बीमाप्रति उसको धारणा नकारात्मक भई पूरै सर्कलमै त्यो अफवाह फैलाइदिन्छ ।
बीमकका कमजोरी
प्राय बीमकहरुले अभिकर्तालाई पूरा तालिम दिन सकेकैै छैनन् । जसको कारण पनि विकृति बढ्दैछ । बीमकहरु अभिकर्तालाई इन्सेन्टिभ, कमिशन लगायतका विविध लोभ देखाएर बढी बीमा शुल्क आर्जन गर्न खाज्दैछन् यो झन घातक सिद्ध भइसकेको छ । कतिपय अभिकर्ताले पाँच वर्षमा बीमाङ्क रकम दोब्बर हुन्छ भनेर बीमालेख बिक्री गरेको पाइएकोछ । यो चेतनाको कमी हो । त्यसैले बीमकले अभिकर्तालाई चुस्त दुरुस्त राख्नलाई रिफरेसमेन्ट तालिम र बीमा सम्बन्धी ज्ञानवद्र्धक सागम्री उपलब्ध गराउनु पर्दछ ।
बीमिले बुझ्नै पर्ने कुराहरु
जीवन बीमामा जसले बीमा गर्छ ऊ बीमित हुन्छ । यदि बीमित बच्चा भएमा प्रस्तावक पनि बीमित हुन्छ । यदि (पीडब्लुबी) सुविधा लिएमा यहाँ स्पष्ट के पार्न खोजिएको छ भने आफ्नो विश्वासको अभिकर्ता मार्फत् गरौं र बीमालेख आर्थिक कारण बाहेक अन्य लोभले समपण वा रद्द गर्ने प्रयास नगरौं । जे छ चल्न दिनोस् र सम्भव भए अर्को बीमालेख खरिन गर्नुहोस् ।
बीमा समितिको योगदान
बीमितको हित विपरित बीमा समितिले कुनै निर्णय नगरी बीमा व्यवसाय शुव्यवस्थित गर्न सक्नु पर्दछ । लहडको भरमा निर्देशिका जारी गर्ने, चुरो कुरो बुझ्न नसक्ने, छलफलमा नजाने गर्दा बीमा क्षेत्रमा ठूलो समस्या पैदा भएको छ । यसको ज्वलन्त उदाहरण कोरोना बीमा साक्षी छ भने बीमा क्षेत्रमा देखिएका विकृति यथावत छन् ।
समर्पण मूल्यको अवधि पाँच वर्ष पुर्याउँदा के होला ?
गाडी, हवाईजहाज, पानीजहाज चलाउँदा दुर्घटना भइरहन्छ के अब त्यो सबै चलाउन बन्द गर्ने ? मान्छे हिँड्दा दुर्घटनामा परिन्छ भनेर हिँड्नै बन्द गर्ने ? बीमा समितिले यो ५ वर्षे नीति लागू गर्यो भने जीवन बीमा व्यवसाय धेरै खस्किने पक्कै छ । सबैको आर्थिक अवस्था एकैनासको हुँदैन र जीवन बीमाको न्यूनतम अवधि नै ५ वर्षको हुन्छ भने त्यसलाई बार लगाइयो भने समग्र बीमित, अभिकर्ता र बीमकहरुनै घाइते हुने निश्चित छ । यसमा अण्डरराइटिङलाई बलियो बनाउने हो भने र एकल बीमाशुल्क भुक्तानी बीमालेखलाई पाँच वर्ष बनाउँदा हुन्छ जसले सक्छ उसले तिर्ने हो । सामान्य बीमितको पनि बीमा गरि जोखिम बहन र बीमाको दायराभित्र रहेर कानुनसम्बत फाइदा लिन सक्छन् । बरु नियामक निकायले बीमालेख समर्पणको अवधि बढाउनुका सट्टा बीमा गरेको तीन वर्षपछि समर्पण मूल्यको ७० प्रतिशत, चार वर्षपछि ८० प्रतिशत र पाँच वर्षपछि ९० प्रतिशत गर्नु उत्तम विकल्प ठानिन्छ ।