काठमाडौं । राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र सुस्त आर्थिक गतिविधिका चुनौतीबीच पनि नेपालको जीवन बीमा उद्योगले गत आर्थिक वर्ष उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ वटा जीवन बीमा कम्पनीले कुल २ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। चुनौतीपूर्ण परिस्थितिका बाबजुद बीमा व्यवसायमा देखिएको दोहोरो अंकको वृद्धि वित्तीय क्षेत्रको स्थायित्व र नागरिकमा बीमाप्रतिको विश्वास बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ। कम्पनीले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै १२.३४ प्रतिशत व्यापार वृद्धि गरेको छ।
दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ तथा तेस्रो स्थानमा रहेको एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेसनल लाइफको व्यापार ११.०६ प्रतिशत र एलआईसी नेपालको ६.५७ प्रतिशतले बढेको छ।
यस्तै, हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। हिमालयन लाइफ, सूर्यज्योति लाइफ र एसियन लाइफको व्यापार क्रमशः ५.१६ प्रतिशत, १६.५९ प्रतिशत र १३.५३ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार भने २.१९ प्रतिशतले घटेको छ।
त्यसैगरी, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले पनि अघिल्लो वर्षको तुलनामा व्यापार वृद्धि गरेका छन्। तीमध्ये आइएमई लाइफले ३७.९६ प्रतिशतको उच्चतम व्यापार वृद्धि हासिल गर्दै सबैभन्दा तीव्र विस्तार गर्ने कम्पनी बनेको छ।
राजनीतिक अस्थिरता, प्राकृतिक विपत्तिको जोखिम र आर्थिक चुनौतीका बीच पनि जीवन बीमा कम्पनीहरूको व्यापार दोहोरो अंकले बढ्नुले नेपालको वित्तीय क्षेत्र अपेक्षाकृत मजबुत बन्दै गएको संकेत गरेको छ। यसले बीमा उद्योगप्रति नागरिकको विश्वास बढ्दै गएको र वित्तीय प्रणालीमा सकारात्मक ऊर्जा थपिएको देखिन्छ।