काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने संख्या र समर्पणबापत भुक्तानी गरिएको रकम दुवै घटेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ हजार ४४२ वटा जीवन बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ९८ हजार ४१ वटा बीमालेख समर्पण भएका थिए। यस आधारमा बीमालेख समर्पण संख्या १४.८९ प्रतिशतले घटेको देखिएको छ।
बीमालेख समर्पण संख्या घटेसँगै समर्पणबापत भुक्तानी गरिएको रकम पनि घटेको छ। गत आर्थिक वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरूले समर्पणबापत १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने यो रकम घटेर १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.०१ प्रतिशतले कम हो।
यसैबीच, नवीकरण बीमाशुल्क भुक्तानी नगर्दा व्यतित (ल्याप्स) भएका बीमालेखको संख्या पनि घटेको छ। प्राधिकरणका अनुसार नवीकरण मिति नाघेको ६ महिनापछि व्यतित हुने बीमालेखको संख्या गत वर्षको तुलनामा १७.३५ प्रतिशतले कमी आएको छ।
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १० लाख २७ हजार ९६३ वटा बीमालेख व्यतित भएका छन्। ती बीमालेखबाट उठ्न बाँकी बीमाशुल्क ३८ अर्ब ६७ करोड ६० लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख ४३ हजार ७६९ वटा बीमालेख व्यतित भएका थिए भने तिनबाट उठ्न बाँकी बीमाशुल्क ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ थियो। व्यतित बीमालेखको संख्या घटे पनि उठ्न बाँकी बीमाशुल्क रकम भने ५.९२ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।